काठमाण्डौ । जर्मनीका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुको एक टोलीले मंगलबार थापाथलीस्थित नर्भिक इन्टरनेनिल हस्पिटलको अवलोकन भ्रमण गरेको छ। 

बिदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ चिकित्सकहरुले नर्भिक इन्टरनेसनल हस्पिटलको अवलोकन भ्रमण गरेका हुन्। 

जर्मनीका चिकित्सकहरुको टोलीलाई नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले खादा लगाएर स्वागत गरेका थिए। नर्भिकको व्यवस्थापन टोलीले जर्मनी चिकित्सकहरुलाई अस्पतालले प्रवाह गर्दै आएको आकस्मिकदेखि सघन उपचारसम्मका सेवाहरुको विषयमा स्थलगत अवलोकन गराई जानकारी दिएको थियो। 

त्यस क्रममा नर्भिक अस्पतालको इमेरजेन्सी विभागका इन्चार्ज ओमर प्रधानले अस्पतालले आकस्मिक हवाई उद्धार सेवा सञ्चालन गरिरहेको र काठमाण्डौस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट निकै छोटो समयमै अस्पतालसम्म बिरामीलाई ल्याएर आकस्मिक सेवा दिने व्यवस्थापन मिलाइएकोलगायतका विषयमा जानकारी दिएका थिए। 

सो क्रममा नर्भिकका अधिकारीहरुले अस्पतालले अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरुको उपचार सेवामा पुर्याउँदै आएको योगदान, दिँदै आएको सेवालगायतका विषयमा समेत टोलीलाई जानकारी गराएका थिए। 

टोलीमा सहभागी जर्मन चिकित्सकहरुले नेपालमा समेत नर्भिक इन्टरनेसनल हस्पिटलजस्तो आधुनिक अस्पताल रहेकोमा खुसी व्यक्त गर्दै नामजस्तै अस्पतालले प्रवाह गर्ने सेवा पनि अन्तर्राष्ट्रियस्तरकै रहेको पाइएको प्रतिक्रिया दिएका थिए। उनीहरुले नर्भिकले उपचार प्रक्रियामा प्रयोग गर्ने स्वास्थ्य उपकरणहरु समेत अन्तर्राष्ट्रियस्तरकै रहेको पाइएको भन्दै प्रशंसा गरेका थिए।