काठमाण्डौ। कोरोनाको कहर फेरि बढ्न थालेपछि युरोपेली मुलुक जर्मनीमा कडा लकडाउन लगाइने भएको छ। यो लकडाउन डिसेम्बर १६ बाट सुरु भएर अर्को वर्ष जनवरी १० सम्म लागू हुनेछ।

जर्मन चान्सलर एन्जेला मर्केलले सबै १६ वटै राज्य प्रमुखहरुसँगको छलफलमा कडा लकडाउन लगाउने घोषणा गरेकी हुन्। लकडाउनमा पसल, स्कुल, डे केयर सेन्टरलगायत सबै बन्द गरिनेछ। 
यसअघिघ जर्मनीमा गत मार्च र अप्रिलमा लकडाउन लगाइएको थियो।

जर्मन चान्सलरले कोरोना नियन्त्रण तथा रोकथामका लागि गत डिसेम्बर २ देखि लागू गरिएको नयाँ नियम पर्याप्त नभएका कारण कडा लकडाउन घोषणा गर्नुपरेको बताइन्। ‘स्वास्थ्य क्षेत्रमा नराम्ररी दबाब परेको छ’, उनले भने, ‘यो अवस्था स्वास्थ्य क्षेत्रलाई मुक्त गर्न पनि यो लकडाउन अत्यावश्यक छ।’

लकडाउन सुरु हुन २ दिनअघि मात्रै जर्मन सरकारले देशवासीलाई अत्यावश्यक वस्तुहरु किनेर घरमा राख्न आग्रह गरेको छ। सरकारले सामाजिक दूरी पनि कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

यो लकडाउनले जर्मनीको अर्थव्यवस्थामा नराम्रो धक्का लाग्ने अनुमान गरिएको छ। यही लकडाउनबीच क्रिसमस र नयाँ वर्षजस्ता ठूला पर्व परेका छन्। यस्ता उत्सवका अवसरमा ठूला समारोह र किनमेल हुने गर्छ। तर लकडाउनले जर्मनी सुनसान हुने भएको छ। यसले जर्मनीको अर्थव्यवस्थामा ठूलो असर गर्ने विज्ञहरु बताउँछन्। 

जर्मनीमा अहिले कोरोना दोस्रो लहर चलिरहेको छ। दैनिक हजारौँ संक्रमित फेला पर्न थालेका छन् भने अस्पतालका आईसीयू क्षमता पनि ९० देखि ९५ प्रतिशतसम्म भरिसकेका छन्। – एजेन्सी