काठमाण्डौ । अफगानिस्तानका एक पूर्वमन्त्री जर्मनीमा पिज्जा डेलिभरी गरिरहेको तस्बिर सार्वजनिक भएको छ। 

अल जजिरा अरबियाले सन् २०२० मा पद त्यागेका अफगानी पूर्वमन्त्री सइद अहमद सादतले पिज्जा डेलिभरी गरिरहेको तस्बिर ट्विटरमार्फ सार्वजनिक गरेको हो। असरफ घानी नेतृत्वको सरकारमा सादत सञ्चार तथा प्रविधिमन्त्रीका रुपमा रहेका थिए। 

मन्त्री पद छाडेपछि सादत सन् २०२० को डिसेम्बर महिनामा जर्मनी गएका थिए। त्यहाँ उनी लिपजिङ भन्ने ठाउँमा बसोबास गरिरहेका छन्। 

सादत सन् २०१८ मा मन्त्री पदमा नियुक्त भएका थिए। राष्ट्रपति घानीसँग मतभेद भएपछि उनी सन् २०२० मा अफगानिस्तान छाडेर र जर्मनी भएका थिए। 

पिज्जा डेलिभरी गरिरहेको तस्बिर सार्वजनिक भएपछि स्काई न्युजले सादतसँग कुराकानी गरेको र उनले तस्बिरमा देखिएको व्यक्ति आफू नै भएको पुष्टि गरेको जनाएको छ। स्काई न्युजका अनुसार सादतसँग पैसाको अभाव भएपछि उनले जर्मन कम्पनी लिभरान्डोमा फुड डेलिभरीको काम गर्न सुरु गरेका थिए। 

सादतले आफूसँग कम्युनिकेसन र इलेक्ट्रोनिक इन्जिनियरिङमा अक्सफोर्ड युनिर्भसिटीको दुईवटा मास्टर्स डिग्री रहेको बताएका छन्। उनीसँग सूचना क्षेत्रमा १३ वटा देशका २० वटाभन्दा धेरै कम्पनीहरुसँग २३ वर्षसम्म काम गरेको अनुभव रहेको छ। यसमा साउदी अरामको र साउदी टेलिकम कम्पनी रहेका छन्। 

यस्तै आफ्नो २ दशक लामो अनुभवका दौरान उनले अफगानिस्तानको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सन् २००५ देखि २०१३ सम्म प्राविधिक सल्लाहकारको रुपमा समेत काम गरेका थिए। उनले सन् २०१६ मा लन्डनको एरियाना टेलिकम कम्पनीमा सीईओका रुपमा समेत काम गरेका थिए। 

राजधानी काबुल नियन्त्रणमा लिएपछि गत अगस्ट १५ देखि सम्पूर्ण अफगानिस्तान तालिवानको नियन्त्रणमा रहेको छ। राष्ट्रपति घानी देश छाडेर संयुक्त अरब इमिरेट्समा गएको विश्वास गरिएको छ। अफगानिस्तानमा विकसित घटनाक्रमका बारेमा प्रतिक्रिया जनाउँदै सादतले आफूले त्यहाँको सरकार यति चाँडै ढल्ला भनेर नसोचेको बताए। – एजेन्सी