काठमाण्डौ । तपाइँ गम्भीर रुपमा बिरामी हुनुहुन्छ। अनि यदि चिकित्सकले अब तपाइँसँग केही पलमात्र बाँकी छ भन्छन् भने अवस्था के होला ? पीडादायी। पक्कै पनि हो।

जन्म र मृत्यु जीवनका लीला हुन्। जन्म असत्य हुन सक्ला तर मृत्यु सत्य हो। यसलाई टार्न सकिँदैन। अनि तपाइँले आफ्नो अन्तिम घडीमा कसलाई सम्झनुहुन्छ ? पक्कै पनि परिवारका सदस्यलाई। 

बेलायतमा यस्तै एउटा घटना भएको छ। जुन सुन्दा निकै पीडादायी छ। र, यो घटना निम्तियो अहिले विश्वमै कहर मच्चाइरहेको कोरोना भाइरसले। 

ड्यारेन बटट्रिक्स नामक व्यक्तिले यस्तो पीडाका पल खप्नुपर्यो। जब चिकित्सकले उनलाई अब बचाउन नसकिने भने तब उनी छाँगाबाट खसेजस्तै भए, चौरैतिर अन्धकार छायो। वातावरण शून्य अनि उनी निःशब्द बने। 

त्यतिमात्रै होइन डाक्टरहरुले ड्यारेनसँग अन्तिम इच्छा पनि सोध्न भ्याए। उनले आफ्नी श्रीमतीसहित परिवारका सदस्यसँग फोनमा कुरा गर्ने इच्छा जाहेर गरे। उनलाई लाग्यो अब यो नै परिवारसँगको अन्तिम कुराकानी हुनेछ। 

तर दैवको लीला कसले टार्न सक्छ। परिवारसँग ड्यारेनको फोनवार्ता अन्तिम बनेन। अहिले उनी स्वस्थ बनेर परिवारसँगै दिन बिताइरहेका छन्। 

कोरोनाकालमा ड्यारेनले कालमाथि विजयी प्राप्त गरेका छन्। अनि आफ्नो उपचारमा संलग्न चिकित्सकलाई भगवानसरह भन्दै उनले धन्यवाद पनि ज्ञापन गरेका छन्। 

घटना विवरणअनुसार ४८ वर्षीय ड्यारेनमा गत मार्च ११ मा कोरोना संक्रमण देखिएको थियो। त्यतिखेर पनि उनी शारीरिक रुपमा दरै थिए। 

कोरोना पोजेटिभ देखिएपछि उनलाई न्युु क्रस हस्पिटलमा भर्ना गरियो। उपचार चल्दै जाँदा उनको स्वास्थ्य अवस्था झनै नाजुक बन्न थाल्यो।

उपचारमा संलग्न चिकित्सकहरुले अब ड्यारेनलाई बचाउन असम्भवजस्तै रहेको निक्र्यौल गरे।  

डाक्टरहरुले ड्यारेनलाई उनका प्रियजनहरुलाई अन्तिम बिदाइस्वरुप फोन गर्न १५ मिनेटको समय दिएका थिए। आँसुले भरिएको यो फोन वार्ता निकै पीडादायी थियो। 

स्वस्थ भएपछि बेलायतको स्काई न्युुजलाई दिएको अन्तर्वार्तामा ड्यारेनले भनेका छन्, ‘फोनमा भएका कुराकानी आजसम्म बिर्सन सकेको छैन।’

ड्यारेनका अनुसार अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राख्नुअघि परिवारसँग फोनमा कुरा गर्न अनुमति दिइएको थियो। ‘मलाई सास फेर्दासम्म घाँटी थिचेजस्तो हुन्थ्यो’, उनी भन्छन्, ‘भेन्टिलेटरमा लानुअघि मैले डाक्टर र नर्सहरुसँग रोएर मलाई बचाउन भिख मागेको थिएँ। म मर्न चाहन्नथेँ। त्यसैले मैलै जीवन बचाइदिन हारगुुहार गरेँ।’

तीन सन्तानका पिता ड्यारेनले रुँदै पत्नी एन्जेला, आमाबुुवा, दाजुुभाइ, दिदीबहिनी, साथीहरु सबैसँग फोनमा कुराकानी गरेका थिए। ‘म उनीहरु सबैलाई माया गर्छु। मेरा लागि त्यो एकदमै भावुुक र कष्टदायि क्षण थियो। मसँग रुनुु बाहेक अन्य विकल्प थिएन’, उनले भने। 

ड्यारेनले आफू बाच्न सफल भएपछि आफ्नो उपचारमा संलग्न भएका र उनको हेरचाह गरेका स्वास्थ्यकर्मीहरुलाई ‘परी’ को उपमा दिएका छन्। उनले आफू भेन्टिलेटरमा जाँदा अब कहिल्यै नउठ्ने गरी जान लागेको भनेर कल्पना गरेको बताए। ‘एक वृद्ध नर्सले मेरो आँखामा हेर्दे मलाई नआत्तिन् भनिन्। उनले मलाई हरहालतमा बचाउने प्रयत्न गर्ने भन्दै मेरो पाखुुरा थमथमाएकी थिइन्’, ड्यारेनले भने, ‘आज म जीवित छु, दोस्रो जीवन पाएको छु।’ 

ड्यारेन बेलायतको ठूलो टेलिकम कम्पनीमा काम गर्छन्। अहिले उनी कोरोनाबाट पूर्ण रुपमा निको भइसकेका छन्। 

बेलायतका प्रधानमन्त्रीले कोरोनाविरुद्ध लडेको कहानीले आफूलाई हौसला दिएको पनि ड्यारेन बताउँछन्। – एजेन्सी