काठमाण्डौ। अहिले विश्व कोरोनाभाइरसको महामारीबाट अतिप्रभावित छ। 

कोरोना संक्रमण फैलावट दिनप्रतिदिन बढ्दै गएको छ। यो भाइरसविरुद्धको औषधि वा भ्याक्सिन बनाउन थुप्रै देशका वैज्ञानिकहरु प्रयासरत रहे पनि सफल हुन सकेका छैनन्। 

यो भाइरस संक्रमण फैलिन नदिन विभिन्न देशमा लकडाउन र सामाजिक दूरीलाई मुख्य प्राथमिकतामा राखिएको छ। मानिसलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्यजस्तै गरिएको छ। 

यसैगरी कोरोना संक्रमित बिरामीको पहिचान गर्न विभिन्न देशले स्वाब परीक्षण तीव्र पारेका छन्। विकसित देशहरुमा परीक्षणले तीव्रता पाए पनि अल्पविकसित र विकासोन्मुख देशहरुमा कछुवाको गतिमा स्वाब परीक्षण भइरहेका छन्। 

यसबीच जापानले कोरोना परीक्षणका लागि नयाँ तरिकाले पत्ता लगाएको छ। यदि यो तरिका सफल भएमा मानिसले घरमै बसेर आफू कोरोनाबाट संक्रमित भए नभएको पत्ता लगाउन सक्ने जापानी अनुसन्धानकर्ताहरुको दाबी छ। 

अहिले कोरोना संक्रमण पत्ता लगाउने भरपर्दो माध्यम भनेका स्वाब परीक्षण नै रहेको छ। स्वाब मानिसका नाकबाट लिइन्छ। स्वाब संकलनका क्रममा खासै अप्ठेरो नभए पनि कतिपय मानिस डराउने गरेको पाइएको छ। 

अब यदि जपानका अनुसन्धानकर्ताहरु नयाँ तरिकाको परीक्षणमा सफल भएमा नाकबाट स्वाब संकलन गर्नुपर्ने झन्झटबाट मानिसहरु मुक्त हुनेछन्। जापानी शोधकर्ताहरुको एउटा टोलीले सलाइभा टेस्ट अर्थात लारबाट कोरोना परीक्षणको तरिका पत्ता लगाएका छन्। सलाइभा मानिसको मुखमा जम्मा हुने पानी हो। जसमा विभिन्न किसिमका तत्व मिसिएका हुन्छन्। 

शोधकर्ताहरुले अहिले सलाइभाबाट कोरोना जाँच गर्ने विधिमा परीक्षण भइरहेको बताएका छन्। उनीहरुका अनुसार यदि यो परीक्षण सफल भएमा मानिसले घरमै बसेर सलाइभाबाट कोरोना भए नभएको २५ मिनेटभित्रै पत्ता लगाउन सक्नेछन्। 

यद्यपि जपानी अनुसन्धानकर्ताहरुले सलाइभाबाट कोरोना परीक्षणका विषयमा विस्तृत जानकारी भने उपलब्ध गराइसकेका छैनन्। 

उता बेलायतमा पनि सलाइभाबाट कोरोना जाँचका विषयमा परीक्षण भइरहेको छ। यो परीक्षणमा १४ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु सहभागी छन्। – एजेन्सी