काठमाण्डौ । नेपाल उद्योग बाणिज्य महासंघको  ५४ औं राष्ट्रिय साधरण सभा बिहीबारबाट सुरु हुँदै छ । अध्यक्ष भवानी राणााले गएको सोमवार सहमतिका लागि गरेको अन्तिम प्रयास बिफल भएपछि लोकतान्त्रिक बिधि निर्वाचनमार्फत नेतृत्व टुङ्ग्याउन दुवै पक्ष सहमत भएका छन् । 

कोरोना भाइरसको महामारीका बीच नेतृत्व चयन सहितको साधरण सभा भएकाले यसपटक सहमतिको आधारमा नेतृत्व चयन गर्न दबाब बढे पनि सहमति बन्न सकेन । वर्तमान अध्यक्ष भवानी राणा, मंसिर १३ गतेबाट स्वतः अध्यक्ष बन्ने शेखर गोल्छा, निर्वतनमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुसकुमार जोशी, रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, प्रदिपकुमार श्रेष्ठलगायतका अधिकांस पूर्व अध्यक्षहरुले किशोर प्रधानलाई बरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउन अपिल गरिरहेका छन् । ५० प्रतिशत मतभार रहेको जिल्लानगरका अधिकांस अध्यक्षहरु पनि साधरण सभामा भाग लिन काठमाडौं आइसकेका छन् ।

जिल्ला नगरका अध्यक्षले हाल्ने १ सय ७ भोट नै निर्णायक भएकाले दुवै समुहको जिल्लानगरको भोट तान्न कसरत गरिरहेका छन् । जिल्लानगरबाटै प्रतिनिधित्व गर्ने बिराटनगरका ब्यवसायी किशोर प्रधान र एसोसियटस्बाट प्रतिनिधित्व गर्ने चन्द्र ढकालबीच कसले बरिष्ठ उपाध्यक्षमा बाजी मार्ला भन्ने सर्वाधिक चर्चा हुदै गर्दा ७ वटै प्रदेशका ७५ बढि जिल्ला नगरका अध्यक्षहरु खुलेरै शेखर गोल्छाको आगामी कार्यकाल सफल बनाउन बरिष्ठ उपाध्यक्षमा अगाडि सारेका किशोर प्रधानको समूहलाई समर्थन गर्ने बताएका छन् । चन्द्र ढकाल समुहले गण्डकी प्रदेशमा सतप्रतिशत आफनो पक्षमा भोट हुने बताइरहेका जिल्ला नगरका अध्यक्षले समेत किशोर प्रधानलाई भोट हाल्ने बताएका छन् । पछिल्लो हप्ता मात्र गण्डकीमा चन्द्र ढकाल समुहले बहुमत गुमाएको छ । स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम कुमार श्रेष्ठले गण्डकी प्रदेशमा मिडियामा आएजस्तो किशोर प्रधानको समुह कमजोर नभएको बताए । तँनहु, गोर्खा, पर्वत, कास्कीको लेखनाथ उद्योग बाणिज्य संघ र स्याङ्जाका अध्यक्ष खुलेरै प्रधानको पक्षमा मत जाहेर गरेका छन् भने अन्य केहिले गोप्य मत सेखर गोल्छाकै समुहलाई जाने बताए । कुन प्रदेशका कुन जिल्ला अध्यक्षले सहमतिको बाधक को र किन भनेर गरेको प्रश्नको जवाफ दिएका छन् । 

प्रदेश नम्वर १ को मोरङ जिल्ला अध्यक्ष विभ प्रसाद घिमिरेले उद्योग वाणिज्य महासंघको इतिहास देखि अहिलेम्म निरन्तर लागिरहेका प्रधान अबको नेतृत्वमा आउनुपर्ने आफ्नो धारणा रहेको बताउँछन् । उनले महासंघलाई अहिलेको अवस्थामा ल्याउन भूमिका खेलेका प्रधानले साना देखि ठूला व्यवसायीका कुराहरु सरकार समक्ष प्रष्ट राख्न सक्ने भन्दै व्यवसायीको हितका लागि काम गर्ने प्रधान समूहलाई आफ्नो प्रदेशका बहुमत जिल्ला अध्यक्षहरुले मतदान गर्ने बताए । 

प्रदेश नं. २ को जनकपुरमा पुगेर प्रधान समुहले गरेको चुनावी सभावमा प्रदेश २ का बहुमत जिल्ला नगरका अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी बहुमत जिल्लाका अध्यक्षहरुले प्रधान समुह अनुभव र अभ्यासले खारिएका कारण पनि अबको एक कार्याकाल प्रधान समूहलाई जिताउने प्रतिवद्धता व्यक्त गरेका छन् । 
प्रदेश नं. २ को लाहान उद्योग बाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्यले व्यवसायीहरुको पीर मर्का बुझेर अधिकारका लागि लड्न सक्ने भएकै कारण प्रधानलाई आफुहरुले समर्थन गरेको बताए । उनले महासंघको शुद्धीकरण र सुदृढीकरण अहिलेको आवश्यकता रहेको र यस मुद्धालाई शेखर गोल्छा समूहले प्रमुखताका साथ उठाईरहेका कारण आफू र आफ्नो प्रदेशका बहुमत सदस्यहरुले प्रधान समुहलाई मतदान गर्ने जानकारी दिए । 

यसैगरी संघीय राजधानी रहेको बागमती प्रदेशमा पनि बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान समूहकै लागि बहुमत मत प्राप्त हुने देखिएको छ । काठमाण्डौमा आयोजना गरिएको मनोनय दर्ताको कार्यक्रममा अधिकासं जिल्लाका अध्यक्षहरुको उपस्थिती रहनुले पनि प्रधान समुह बागमती प्रदेशमा बलियो रहेको प्रष्ट पारेको छ । 

यसैगरी दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इनद्र श्रेष्ठले जिल्ला नगर मात्र हैन साना व्यवसायीहरुको हितमा काम गर्न सक्ने भएका कारण आफुहरुले प्रधान समुहलाई साथ दिएको बताए । महासंघमा अहिलेसम्म पनि असल नेतृत्व आउन नसकेको भन्दै उनले प्रधान जस्तो असल व्यक्तिले महासंघको नेतृत्व गर्दा महासंघ आफ्नै छवि राम्रो बन्ने भन्दै प्रदेशका बहुमत जिल्ला नगरका अध्यक्षहरुको साथ प्रधानलाई रहेकाले आफूहरुले पनि प्रधानलाई समर्थन गरेको बताए । 

यसैगरी कमजोर भनिएको गण्डकी प्रदेशमा शेखर गोल्छा नेतृत्वमा रहेको बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर कुमार प्रधानलाई बहुमत जिल्ला नगरका अध्यक्षहरुको समर्थन देखिएको छ । स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम कुमार श्रेष्ठले महासंघको बरिष्ठ उपाध्यक्षमा दुवै उम्मेद्वार उक्तिकै बलियो रहेपनि अनुभव, अभ्यास र महासंघमा योगदानका आधारमा किशोर कुमार प्रधानलाई नेतृत्व दिनुपर्नेमा जोड दिए । उनले महासंघमा आवद्ध सदस्यहरुको हित र सरकारसंग आफ्नो कुरा प्रष्ट राख्न सक्ने प्रधानलाई नेतृत्वमा ल्याउँदा व्यवसायीहरुको हितमा काम गर्न सजिलो हुने तर्क अघि सारे । 

उता लुम्बिनी प्रदेशमा पनि प्रधानको समुहलाई बहुमत जिल्ला नगरका अध्यक्षहरुको साथ र समर्थन रहेको छ । कपिलवस्तु उद्योग संघका अध्यक्ष उमानाथ पौडेलले अवको नेतृत्व निर्विकल्प किशोर कुमार प्रधान रहेको बताउनुभयो । उँहाले आफ्नो कुरा स्पष्ट राख्ने, व्यवसायीको पिर मर्का बुझ्ने र जतिवेलापनि व्यवसायीहरुको हक र हितका लागि खटिरहने शेखर गोल्छा समुहबाट बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर कुमार प्रधान निर्वाचित हने निश्चित जस्तै भइसकेको बताउनुभयो । साना व्यवसायीहरुको हितका लागि काम गर्ने मान्छे महासंघको नेतृत्वमा आए आर्थिक समृद्धी हासिल गर्न सहज हुने र कोरोनाबाट थलिएको अर्थतन्त्र माथी उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

यसैगरी सूदूरपश्चिम प्रदेशका १० जिल्लाबाट पनि प्रधान समुहलाई बहुमत मत प्राप्त हुने निश्चित भएको छ । सुदूरपश्चिम प्रदेशमा भएको चुनावी सभाका क्रममा जिल्ला नगरका अध्यक्षहरुले महासंघको सुद्धिकरण र सुदृढिकरणका लागि शेखर गोल्छा नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा प्रधानलाई सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

महासंघको निर्वाचनका लागि अघिकासं जिल्ला अध्यक्षहरु काठमाण्डौ आईपुगेका छन् । बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुरमेलीलले अबको नेतृत्व अभ्यास र अनुभवका आधारमा प्रधानलाई दिनुपर्ने तर्क गर्छन् । उनले महासंघ व्यवसायीहरुको साझा संस्था हो भन्दै कोरोनाबाट प्रभावित आर्थिक क्षेत्रको उठानका लागि पनि प्रधानले अगाडि सारेका योजना र एजेण्डा प्रभावकारी रहेको तर्क राखे । 

यसैगरी कर्णाली प्रदेशमा पनि प्रधानलाई बरिष्ठ उपाध्यक्षमा बहुमत जिल्ला अध्यक्षहरुको समर्थन रहने देखिएको छ । समग्रमा देशभरको अवस्था हेर्दा लामो समयसम्म उद्योगवाणिज्य महासंघमा योगदान गरेका प्रधानलाई यस पटक बरिष्ठ उपाध्यक्षको जिम्मेवारी प्राप्त हुने निश्चित जस्तै बनेको छ । शालीन प्रधानले साना देखि ठूला व्यवसायीहरुको मर्म बुझेर महासंघलाई नेतृत्व प्रदान गर्न सक्ने भन्दै धेरै जिल्ला नगरका अध्यक्षहरुले समर्थन गरेका छन् ।