काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गर्दै इन्साइडर ट्रेडिङको छानबिन गर्न भन्दै नेपाल धितापत्र बोर्ड (सेबोन)मा आज चैत १३ गते उजुरी परेको छ। 

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेलले सेबोनमा जीवन विकास लघुवित्तको सेयरमा इन्साइडर ट्रेडिङ भएको दाबी गर्दै सेबोनमा उजुरी दर्ता गरी छानबिनका माग गरेका हुन्। 

उजुरीमा जीवन विकास लघुवित्तको सेयर कारोबार रोक्का गर्दै इन्साइडर ट्रेडिङको छानबिन गरी झुठो सूचना दिने सञ्चालक समिति र संस्थामाथि कारबाही गर्न माग गरिएको छ। 

संस्थाको सञ्चालक समितिले गत फागुन ६ गते आर्थिक वर्ष २०७८–७९ का लागि चुक्तापुँजीको कुल ३६.३६८४ प्रतिशत बोनस सेयर र नगद लाभांश घोषणासम्बन्धी जानकारी गराएको थियो। त्यसपछि नेपाल राष्ट्र बैंकले फागुन १७ गते पत्र पठाउँदै  चुक्तापुँजीको नगद तथा बोनस गरी कुल ३३.१५ प्रतिशतमात्र लाभांश बाँड्न निर्देशन दियो। 

फेरि हप्ता दिनपछि नै चैत ९ गते चौथो वार्षिक साधारणसभासम्बन्धी सूचना जारी गर्दै चुक्तापुँजीको ०.७१४ प्रतिशत नगद लाभांश र १४.२८५ प्रतिशत बोनस सेयरको प्रस्ताव सार्वजनिक गरेको थियो। 

उजुरीमा राष्ट्र बैंकको निर्देशनबमोजिम नै दोस्रोपटक बोनस र नगद लाभांश वितरण गर्ने भनिएको तेस्रोपटक किन फेरि संशोधन गर्नुपर्ने भयो ? भनी प्रश्न उठाइएको छ। ‘दोस्रोपटकको झुटो विवरण किन प्रकाशित गरेको ?’, उजुरीमा प्रश्न गरिएको छ, ‘सेयर लगानीकर्तालाई झुटो सूचना नेप्सेमा सूचीकृत कम्पनीले दिन पाइन्छ ?’

कम्पनीको चैत ९ गते चौथो वार्षिक साधारणसभासम्बन्धी जारी सूचना आउनुअघि नै ब्रोकर नं. ४ र ब्रोकर नं. ३४ बाट ठूलो कित्ता बिक्री भएको देखिएको उजुरीमा उल्लेख छ। ‘उक्त कारोबारीसँग भित्री सूचना कसरी चुहियो ?’, उजुरीमा प्रश्न गरिएको छ। 

यी सबै विषयको सत्यतथ्य छानबिन गर्न, कम्पनीको सेयर कारोबार रोक्का गरी कम्पनीको सेयरमूल्यमा असर गर्ने गरी झुटो विवरण प्रकाशन गर्ने, इन्साइडर सूचना चुहाउने सञ्चालक समिति र संस्थामाथि कारबाही गर्न उजुरीमा माग गरिएको छ। 

सेबोनका एक उच्च अधिकारीले जीवन विकास लघुवित्तका विषयमा उजुरी परेको जानकारी दिए। ‘यस विषयमा अनुसन्धान गर्ने छौँ’, ती अधिकारीले भने, ‘इन्साइडर भएको पाइएमा दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढ्छ।’