काठमाण्डौ । वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्। 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बिहीबार बसेको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। अर्थात अब वाणिज्य बैंकहरुले वैशाख महिनामा कायम निक्षेपको ब्याजदरलाई जेठ महिनामा निरन्तरता दिने छन्। 

एनबीएको बैठकमा वैशाखमा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झर्दा पनि निक्षेप संकलनमा उल्लेख्य सुधार नदेखिएको जेठ ब्याजदर नघटाउने सहमति बैंकरहरुबीच जुटेको एक बैंकरले बताए। 

यसअघि वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुगेको छ। बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्तालाई आकर्षित बैंकहरुले ब्याजदर बढाएका थिए।

गत माघमा एनबीएले ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको थियो। त्यसपछि वैशाखदेखि ९.९९ प्रतिशतमा झारिएको थियो। 

अहिले बैंकहरुले संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम छ।

अब जेठ महिनामा पनि मुद्दति निक्षेप र बचतको ब्याजदर यही कायम रहने भएको छ।