काठमाण्डौ । भिन्टाज एण्ड क्लासिक इन्क नेपालको आयोजनामा आगामी जेठ १ गते देखि ३ गते सम्म भिन्टाज मोटर एक्स्पो आयोजना हुने भएको छ । 

पर्यटनको आधार, सामाजिक कार्यका लागि समेत सहज भिन्टाज र क्लासिक मोटरहरुको बिषयमा जानकारी दिने उद्देश्यले, मोटरहरुको विगतलाई समेत सर्वसाधारण माझ ल्याउने तथा मोटर पर्यटनलाई बढावा दिने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको र त्यसको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका अधिकारीहरुले बताएका छन् । 

केही समयअघि स्थापना भएको भिन्टाज एण्ड क्लासिक मोटर इन्क नेपालले आफ्नो पहिलो सार्वजनिक कार्यक्रमको रुपमै एक्स्पो आयोजना गर्न लागेको बताइएको छ । एक्स्पोमा भिन्टाज गाडीमा नेपाली चित्रकला कुदिनेछ, यो इतिहासकै पहिलो काम हुने आयोजकको दाबी छ । लामो इतिहास बोकेको नेपाली चित्रकला, साहित्यमा नयाँ विधा थपिने छ भने प्रदर्शनीकै दौरान ऐतिहासिक गाडी संरक्षण सम्बन्धी अन्तरक्रिया समेत हुने बताइएको छ । प्रदर्शनीको अर्को आकर्षण ऐतिहासिक गाडीका फोटो प्रर्दशनी हुनेछ भने अटोमोवाइल सम्बन्धी विभिन्न फिल्म र डकुमेन्ट्री समेत देखाइने आयोजकले जनाएको छ । 

नेपाल आर्ट काउन्सिसलमा हुने एक्स्पो १ जेठ शनिवार २ बजेबाट शुरु भई ३ जेठ ५ बजेसम्म हुनेछ । प्रदर्शनीमा  मूलतः अटोमोबाइलका व्यवसायी, संरक्षणकर्ता, नीति निर्माता, कला साहित्यका स्थापित व्यक्तित्व र स्कुल, कलेजका विद्यार्थीहरु सहभागी हुने बताइएको छ । प्रदर्शनीको क्रममा आयोजना हुने अन्तरक्रियामा अलाइन्स इन्टरनेशनल डे टुरिजमका उपाध्यक्ष तथा भिन्टाज एण्ड क्लासिक कार क्लब इण्डियाका उपाध्यक्ष नितिन दोस्सा प्रमुख वक्ताको रुपमा प्रस्तुत हुनेछन् । कार्यक्रमलाई नासा फाण्डेसन, साँस्कृतिक संग्रहालय नेपाल लगायतका संस्थाले सहयोग गरेका छन् ।