काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हचुवाको भरमा अनुसन्धानको नाममा गत मंगलबार ‘जोखिमपूर्ण’ भन्दै ५१ वटा कम्पनीको नामावली सार्वजनिक गरेपछि सेयर बजार लगातार ओरालो लागिरहेको छ।

गत मंगलबार ३०२२ विन्दुमा रहेको नेप्से परिसूचक लगातार ३ दिन घटेर आज आइतबार २९०५ को विन्दुमा झरेको छ। यो ३ दिनको अवधिमा परिसूचक ११७ अंकले घटिसकेको छ । 

नेप्सेसँगै कुल बजार पुँजीकरण पनि ह्वात्तै घटेको छ। गत मंगलबार ४१ खर्ब ७२ अर्ब कुल बजार पुँजीकरण रहेकोमा आज आइतबारसम्म ४० खर्ब ३६ अर्ब रुपैयाँमा झरेको छ। यस हिसाबले यो ३ दिनभित्रै लगानीकर्ताको कुल सम्पत्ति १ खर्ब ३६ अर्ब रुपैयाँले घटिसकेको छ। 

सेबोनले जोखिमयुक्त भन्दै जलविद्युत समूहका २२ वटा, जीवन, निर्जीवन र अन्य समूहका ५ ५ वटा, वित्त समूहका ४ वटा, होटेल तथा पर्यटन, विकास बैंक, लघुवित्त, उत्पादन तथा प्रशोधन र लगानी समूहका २ २ वटा गरी ५१ वटा कम्पनीका नाम सार्वजनिक गरेको थियो। 

यो ३ दिनको अवधिमा यी ५१ कम्पनीमध्ये अधिकांशको सेयरभाउ ओरालो लागेको छ। 

यो ३ दिनको अवधिमा राष्ट्रिय बीमा कम्पनीका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। गत मंगलबार प्रतिकित्ता २२ हजार ६७० रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य घटेर आज २१ हजार ८९९ रुपैयाँमा झरेको छ। यस हिसाबले यो कम्पनीको सेयरभाउ ७७१ रुपैयाँले घटेको छ।

यसरी गरी विशाल बजार कम्पनीको सेयरमूल्य ३ दिनमा कित्तामै ६०० रुपैयाँ घटेको छ। गत मंगलबार ६ हजार ६०० रुपैयाँ रहेको यो कम्पनी सेयरमूल्य घटेर ६ हजार रुपैयाँमा सीमित बनेको छ।

त्यसैगरी एसटीसीको सेयरमूल्य पनि ३ दिनमै प्रतिकित्तामा ५०५ रुपैयाँको गिरावट आएको छ। आज १० हजार ७५ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य गत मंगलबार १० हजार ५८० रुपैयाँ रहेको थियो।

हिमलायन डिस्टिलरीको भाउ पनि ४७८ रुपैयाँले घटेर ५ हजार २६० रुपैयाँमा झरेको छ। गत मंगलबार यो कम्पनीको प्रतिकित्ता ५ हजार ७३८ रुपैयाँ रहेको थियो।

यसैगरी युनिलिभर नेपालको मूल्य पनि ३ दिनमै ३९४ रुपैयाँले घटेको छ। गत मंगलबार १९ हजार ९९८ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य घटेर १९ हजार ६०४ रुपैयाँमा झरेको छ।

यीबाहेक अन्य सबै कम्पनीको सेयरमूल्य १५ रुपैयाँदेखि १९० रुपैयाँसम्म घटेको छ।

यस्तो छ धेरै गुमाउने १५ कम्पनीको सूची –