अमेरिका । जोन्सन एण्ड जोन्सन कम्पनीका उत्पादनहरु(पाउडर, स्याम्पु, बडी मसाज क्रिम, बेबी क्रिम) नेपालमा समेत चर्चित छन् । नेपालका बालबालिकादेखि बयस्कहरुले समेत जोन्सनको उत्पादन भनेपछि मरिहत्ते गर्छन । तर जोन्सन एण्ड जोन्सन कम्पनीको उत्पादन यदि धेरै हानिकारक रहेको पुष्टि भएको छ कि, यसको प्रयोगले ज्यानै जानसक्छ । जोन्सनका विभिन्न प्रडक्टको लामो प्रयोग गर्दा अमेरिकामा एक महिलालाई अण्डाशयको क्यान्सर भई ज्यान नै गएको तथ्य बाहिर आएको छ ।

जोन्सन एण्ड जोन्सनको उत्पादनकै कारण क्यान्सर भएकी एक महिलाको परिवारको पक्षमा फैसला गर्दै अमेरिकाको मिसौरी राज्यको स्थानीय अदालतले कम्पनीले पीडित र राज्यलाई गरी कुल ७.२ करोड अमेरिकन डलर(करिब ८ सय करोड नेपाली रुपैयाँ) बराबरको क्षतिपूर्ति तथा जरीवाना तिर्नुपर्ने फैसला सुनाएको छ । यो फैसलापछि नेपालमा मात्र होइन, विश्वमै चलेको जोन्सन एण्ड जोन्सनको उत्पादनमाथि गम्भीर संकट पैदा भएको छ । 
 

ज्याकलिन फाक्स नाम गरेकी एक महिलाको सन् २०१५ अक्टोबरमा क्यान्सरका कारण मृत्यु भएको थियो । मृत्युपछि ती महिलाको परिवारले जोन्सनको उत्पादनकै कारण क्यान्सर भएको र यसबाट ज्यान गएको दाबी गर्दै स्थानीय अदालतमा कम्पनीविरुद्ध मुद्धा दायर गरेको थियो । सो मुद्धामाथि लामो बहसपछि हालै अदालतले फैसला गर्दै जोन्सनकै उत्पादनबाट क्यान्सर भएको पुष्टि हुन आएकोले कम्पनीले पीडित परिवारलाई १ करोड अमेरिकन डलर क्षतिपूर्ति दिन र ६.२ करोड अमेरिकन डलर जरीवाना तिराउन भनेको हो । अदालतको फैसलाप्रति असहमति जनाउँदै कम्पनीले चाहि यो आरोपलाई खण्डन गर्दै आफ्नो सबै उत्पादन पूर्ण रुपमा सुरक्षित रहेको जिकिर छाडेको छैन । 
 

३५ वर्षदेखिकी प्रयोगकर्ता
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ज्याकलिन कयौं वर्षदेखि जोन्सन एण्ड जोन्सन कम्पनीका उत्पादनहरुको प्रयोगकर्ता थिइन । लामो समयदेखि उनले जोन्सनको उत्पादन प्रयोग गरेकै कारण गम्भीर स्वास्थ्य समस्या भएको देखिएको छ । सेन्ट लुइस नामका न्यायाधीशको जुरीले महिलाको जोन्सनको उत्पादनकै कारण क्यान्सर भई मृत्यु भएको भन्दै १ करोड क्षतिपूर्ति र ६.२ करोड अमेरिकन डलरको जरीवाना हुने फैसला गरेको हो । 

 

ती महिलालाई अण्डाशयको क्यान्सर भएको थियो । उनी लामो समयदेखि जोन्सन एण्ड जोन्सनको बेबी पाउडर र सावर टु सावरको प्रयोग गर्ने गर्थिन । अदालतले लामो समय आफ्नो उत्पादन प्रयोग गर्नेलाई क्यान्सर हुने कुरा कम्पनीलाई थाहा भए पनि यो बिषयमा प्रयोगकर्तालाई सचेत नगराइएको गम्भीर आरोप समेत लगाएको छ । अदालतमा यो पनि दाबी गरिएको छ कि मृत्यु हुनुअघि ती महिलाले विगत ३५ वर्षदेखि जोन्सन कम्पनीको बेबी पाउडर र सावर टु सावर नामको प्रडक्ट प्रयोग गरेकी थिइन । विगत तीन सालदेखि अण्डाशयको क्यान्सरबाट पीडित हुन थालेकी ६२ वर्षकी ती महिलाको उपचारको क्रममा अक्टोबरमा ज्यान गएको थियो । 
 

मृतक महिलाको परिवार तर्फका वकिलका अनुसार अदालतले जोन्सन एण्ड जोन्सन कम्पनीमाथि उपभोक्तामाथि धोकाबाजी गरेको, चरम लापरबाही गरेको र आफ्नो उत्पादनको दोष लुकाउन षड्यन्त्र समेत रचेको चार्ज लगाएको छ । कम्पनीका प्रवक्ता केरौल गुडरिचले अदालतको फैसलाबाट आफूहरु निराश भएको उल्लेख गर्दै आफूहरु आफ्ना उपभोक्ताको हितप्रति सचेत र सजग रहेको दाबी गरेका छन् । 
 

पहिला पनि लागेको थियो आरोप
सन् २००७ मा जोन्सन एण्ड जोन्सन कम्पनीको प्रडक्टमा कार्सिनोजेनिक तत्व पाइएको थियो । अनुसन्धान गर्ने क्रममा पछि पत्ता लागेको थियो कि, यस्तो तत्व टेलकम पाउडरलाई इथाइल अक्साइडमा स्टरलाइज गरेका कारण उत्पति भएको र यो तत्वले छालालाई निकै धेरै वेफाइदा गर्ने रहेछ । सन् २००९ को मे महिनामा समेत सुरक्षित कस्मेटिक अभियान नामको अन्तर्राष्ट्रिय संस्थाले जोन्सन एण्ड जोन्सन कम्पनीको बेबी पाउडर र ठूलाका लागि समेत उत्पादित पर्सनल केयर प्रडक्ट बनाउनका लागि प्रयोग भएका वस्तुको बिषयमा पनि गम्भीर प्रश्न उठाएको थियो । त्यसपछि लगातार तीन सालसम्म चलेको नकारात्मक अभियानका कारण आफ्नो बजार चौपट हुने डरले कम्पनीले २०१२ मा आफ्ना केही उत्पादन र केही उत्पादनमा प्रयोग हुने केही वस्तुहरु हटाउने निर्णय गरेको थियो । 
-एजेन्सीबाट भावानुवाद