काठमाण्डौ । जो बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्।

पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडेन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्। उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो।

उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन्। ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ।
विजयी हुने प्रक्षेपणपछि बाइडेनले एक विज्ञप्तिमा भने: "मलाई र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिले देखाएको विश्वासले मैले सम्मानित र धन्य महसुस गरेको छु।"

"अब निर्वाचन अभियान सकिएपछि आक्रोश र एकअर्काप्रतिको आरोपप्रत्यारोपलाई पाखा लगाएर एक राष्ट्रको रूपमा अगाडि आउनुछ। अमेरिका एक हुने समय हो।"

यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ। आफ्नो भर्जिनिया रिसोर्टमा गल्फ खेल्दै गरेका ट्रम्पले वक्तव्यमा निर्वाचन नसकिएको प्रतिक्रिया दिएका छन्। "किन जो बाइडेन विजेताको रूपमा गलत घोषणा गर्न र किन सञ्चारमाध्यम उनलाई सहयोग गर्न प्रयास गरिरहेका छन् भन्ने सबैलाई थाहा छ: उनीहरू सत्य बाहिर ल्याउन चाहँदैनन्," लिखित विज्ञप्तिमा भनिएको छ। "सामान्य तथ्य के हो भने यो निर्वाचन अन्त्य भएको छैन।"

निर्वाचनको नतिजा सञ्चारमाध्यमको प्रक्षेपण हो र यसलाई निर्वाचन अधिकारीहरूले प्रमाणीकरण गरेका छैनन्। सोमबारदेखि आफ्नो टोलीले अदालतमा निर्वाचन कानुन पालना गरेको र सहि विजेतालाई पदमा पुर्याउन कानुनी प्रक्रिया थाल्ने विज्ञप्तिमा उल्लेख छ।

बीबीसीको प्रक्षेपण मतगणना सम्पन्न भएको पेन्सिल्भेनियाको अनौपचारिक नतिजाका साथसाथै विस्कन्सिनजस्ता राज्यमा उनले जित्ने सम्भावनामा आधारित छ।

सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडेनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो। ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मतसङ्ख्या हो।

मतगणना जारी रहँदा ट्रम्पले आफूले जितेको गलत दाबी गरेका थिए। त्यसपछि उनले दैनिक धाँधली भएको दाबी गरिरहेका छन् तर उनले कुनै प्रमाण दिएका छैनन्।

बाइडेनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए। अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो। उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला गलत वाक्य बोल्न सक्ने नराम्रो गुण भएका मानिस पनि हुन्।

भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो। एउटा र्यालीमा भाषण गर्दै उनले भनेका थिए: "मेरा पुर्खा उत्तरपूर्वी पेन्सिल्भेनियाका कोइलाखानीमा काम गर्थे।" उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बताएका थिए। तर वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् - उनले त्यो वाक्य (र अन्य कैयौँ वाक्य) एक ब्रिटिश राजनीतिज्ञ निल किनकको भाषणबाट चोरेका थिए। पछि 'जो बम'का नामले परिचित बन्न पुगेका यस्ता विभिन्न गल्तीको शृङ्खलाको त्यो पहिलो कडी थियो।

सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै उनले आफ्नो भाषणमा भने, "मैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा।"

विचार नगरी उनले भनेको कुरालाई निकट मित्रता मात्र नभई यौन सम्बन्ध रहेको रूपमा समेत अर्थ्याउन सकिन्थ्यो। राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले 'अर्थतन्त्रमा हामीले हानि पुर्याउने ३० प्रतिशत सम्भावना छ' भनेर मानिसहरूलाई त्रसित बनाइदिए। उनले ओबामालाई वर्णन गर्दै यसो भनेका थिए "अफ्रिकी-अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तीक्ष्ण र स्वच्छ अनि आकर्षक छ।"

तापनि भाग्य नै भन्नुपर्छ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रपतिमा चुने। उनको स्पष्ट बोल्ने शैलीको अर्को पक्ष पनि छ।

रोबट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन्। बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन्। 

खासगरी कामदार तथा मजदुर वर्गलाई बाइडेनले आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन्। भाषणपछि श्रोतासँग उनी हात मिलाउँछन् र फोटो खिचाउँछन् - कुनै रकस्टारले जस्तै। "उनी मानिसहरूसँग अङ्कमाल गर्छन्, बोल्छन्, छुन्छन् र त्यो सबै वास्तविक हुन्छ। कृत्रिम हुँदैन," पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जन केरीले द न्यूयोर्कर पत्रिकालाई बताए। तर उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न उठेका छन्।

कूटनीतिक अनुभव उनको बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी काण्ड बाइडेनको निम्ति बढ्ता हानिकारक हुन्छ। उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए। आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन्।

सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए। पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले। अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए। सो कारबाहीमा बिन लादेन मारिएका थिए।

बाइडेनका दृष्टिकोणहरू डेमोक्र्याटिक पार्टीका कैयौँ युवा अभियानकर्मीहरूले भने रुचाउँदैनन्। उनीहरूले बर्नी स्यान्डर्स वा एलिजाबेथ वारेनका जस्ता कट्टर युद्धविरोधी अडानको समर्थन गर्छन्।
तर कैयौँ अमेरिकीको रुचिविपरीत उनी अलि ज्यादा शान्तिकामी पनि लाग्न सक्छन्। उनको अधिकांश नीतिहरू मध्यमार्गी किसिमका छन्। –बीबीसीबाट