काठमाण्डौ । चुक्तापुँजीको हिसाबले ज्योति विकास बैंक देशकै सबैभन्दा ठूलो विकास बैंक बन्ने भएको छ । यो बैंकले हाम्रो विकास बैंकलाई १ बराबर १ को सेयर स्वाप अनुपातमा गाभ्ने निर्णय गरेको हो । 

एक्वीजिसनको प्रक्रियालाई निश्कर्षमा पुर्याउन ज्योतिले आगामी असोज २९ गते आफ्नो ११ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

सभाले हाम्रो विकास बैंकलाई अक्वायर गर्ने प्रस्ताव पारित गर्नेछ । डिडिएले हाम्रोलाई बराबरी हैसियतमा गाभ्न सकिने तथ्य प्रस्तुत गरेपछि सोही अनुसार ज्योति अगाडि बढेको हो । 

ज्योतिमा बराबरी हैसियतमा गाभिन लागेको  हाम्रो विकास बैंकको चुक्तापूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । गाभिएपछि ज्योति विकास बैंकको चुक्तापूँजी ३ अर्ब ८ करोडको उचाईमा पुग्नेछ । 

यसैगरी, साधारणसभामा हाल कायम संस्थापक सेयरधनीको सेयर स्वामित्व हिस्सा घटाउने उद्देश्यले २४ लाख ५० हजार ९ सय ६० कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव समेत पेश हुँदैछ । हाल बैंकमा संस्थापक समूहको हिस्सा ६०.४५ प्रतिशत रहेको छ । यसलाई बैंकले ५१ प्रतिशतमा झार्न खोजेको हो । 

साधारणसभामा आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई ८.४० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत अजेण्डाको रुपमा प्रस्तुत हुनेछ । 

यसैबीच, बैंकले साधारणसभा प्रयोजनको लागि असोज १५ गतेदेखि बुक क्लोज गर्नेछ । यसको अर्थ असोज १४ गतेसम्म ज्योति विकास बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले घोषित नगद लाभांश पाउनेछन् भने साधारणसभामा समेत सहभागिता जनाउन पाउनेछन् ।