काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद बीमाशुल्क आर्जनमा १३४.६९ प्रतिशतको छलाङ मारेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको । जुन गत आर्थिक वर्षको यही अवधिको कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष कम्पनीले ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्म कम्पनीले जगेडा कोषमा ९४.७४ प्रतिशतले वृद्धि गरेको छ। गत वर्ष यही अवधिमा १७ करोड १८ लाख रुपैयाँ रहेको जगेडा कोषमा अहिले बढेर ३३ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी कम्पनीको जीवन बीमा कोषमा १ अर्ब २० करोड र महाविपत्ति जगेडामा ३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले समीक्षा अवधिमा २ अर्ब ४६ करोड ३० लाख रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा प्रवाह गरेको छ भने २६ करोड ५२ लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा परिचालन गरेको छ । कम्पनीले लगानी कर्जा तथा अन्यबाट ५ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको तुलनामा ३ करोड ७१ लाख रुपैयाँ बढी हो ।

दोस्रो त्रैमासमा बीमालेखको धितोबापत कम्पनीले ७ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट कम्पनीले १७ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्तापुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।