काठमाण्डौ । लाभांश अनुमोदन मुख्य अजेन्डासहित ज्योति विकास बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको हिजो पुस १९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १४ गते बुधबार डोकेको हो। सभा काठमाण्डौको भद्राकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। 

त्यस्तै बैंकको हाल संस्थापक समूहको सेयर स्वामित्व ५४.३५ प्रतिशत रहेकोमा अब ५१ प्रतिशतमात्र कायम रहने गरी बाँकी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिवर्तन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २८ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।