काठमाण्डौ । कोभिड १९ संक्रमणको आशंका गरिएका बिरामीहरुलाई कुनै पनि अस्पतालले अब रेफर गर्न नपाउने भएको छ। 

संक्रमणको आशंका गरिएका बिरामीले अनाहकमा दुःख पाएका निश्कर्ष निकाल्दै स्वास्थ्य मन्त्रालयले अबदेखि सम्बन्धित अस्पतालले नै छुट्टै फिभर क्लिनिक संचालनमा ल्याउनुपर्ने र त्यस्ता बिरामीलाई सोही क्लिनिकमा आइसोलेसनमा राख्नुपर्ने निर्णय गरेको हो । 

यसअघि देशका विभिन्न अस्पतालहरुले कोरोना संक्रमणको आशंका लागेका बिरामीहरुलाई अन्यत्रै रिफर गरिदिने गरेका थिए । यस्तो हुँदा एउटै बिरामी १० वटासम्म अस्पताल चाहनुपर्ने बाध्यता रहेको थियो । यस्तो अवस्थालाई अन्त गर्दै अब सम्बन्धित अस्पतालमै त्यस्ता बिरामीलाई राखेर उसको स्वाब परीक्षणका लागि नमूना केन्द्रीय प्रयोगशाला टेकूमा पठाउनुपर्ने निर्णय भएको हो । 

स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै यो विषयमा जानकारी दिएको हो । 

अस्पतालहरुले कोरोना संक्रमित बिरामीहरुको उपचार व्यवस्थापन गर्न सकून र अस्पतालहरुमा भीडभाड पनि नहोस् भन्ने उद्देश्यले कम्तीमा २ सातासम्मका लागि ठूला अस्पतालहरुको ओपीडी सेवा समेत बन्द गर्ने निर्णय भएको छ । 

योसँगै २ हप्तापछि पनि चेकजाँच गर्दा फरक नपर्ने बिरामीहरुको तत्काल जाँच हुने छैन । 

यस्तै, २ हप्तापछि मात्रै गर्दा समेत फरक नपर्ने नियमित शल्यक्रिया समेत स्थगित गरिएको मन्त्रालयले जनाएको छ । 

‘बिरामीको संख्या र भिजिटरको संख्या घटेर भीडभाड कम होस् भनेर हामीले यस्तो निर्णय गरेका हौ ।’ पत्रकार सम्मेलनमा अधिकारीहरुले भनेका छन्–‘फलोअपमा आउने बिरामीलाई समेत अब बोलाइनेछैन । नियमित जाँच र शल्यक्रिया पनि अहिलेलाई बन्द गर्ने निर्णय भएको छ।’ 

यस्तै, अस्पतालहरुबाट हुँदै आएको होलबडी चेकअप सेवा समेत तत्कालका लागि बन्द गरिएको छ । 

कोभिड १९ परीक्षणको दायरा बढाउँदै मन्त्रालयले विदेशबाट आएका वा त्यस्तासँग नजिकमा रहेका व्यक्तिमा खोकी र ज्वरो देखियो भने नमूना परीक्षण गरिरहेको भए पनि अब भने ६० वर्ष बढी उमेरका व्यक्तिमा, दीर्घरोगी, स्वास्थ्यकर्मीहरुमा र विशेष गरी आइसीयूमा बसेका, फ्लूलाइक सिन्ड्रोमका केसहरुमा नमूना परीक्षण गर्ने दायरा बढाउने निर्णय समेत गरेको छ । 

‘यसका लागि ठूल अस्पतालमा फिभर क्लिनिक संचालन गरिनेछ ।’ पत्रकार सम्मेलनमा भनिएको छ–‘संभावित संक्रमित देखिएमा सोही अस्पतालले आइसोलेसनमा राख्ने, रिफर नगर्ने निर्णय भएको छ । त्यस्ता केसहरुलाई नितान्त नजिकबाट फलोअप गरिनेछ । अब कुनै पनि संक्रमणको आशंका गरिएका बिरामी अस्पतालहरुमा भौतारिनुपर्दैन ।’

यस्तै, स्वास्थ्य मन्त्रालयले विभिन्न देशबाट नेपाल आएका नागरिकहरुलाई घरमै क्वारेन्टाइनमा बस्न आह्वान गरेको छ । ‘घरबाट निस्किएर जमघटमा नजआनुहोस् संक्रमण धेरैमा फैलिन्छ, नफैलियोस् । उहाँहरुले मेरो परिवार, समुदाय र मेरो देशलाई संक्रमणबाट बचाउँछु भनेर सम्झिदिनुपर्यो, जिम्मेवार बनदिनुहोस् ।’ स्वास्थ्यका अधिकारीहरुले भने । 

मन्त्रालयले कोभिड १९ को संक्रमण एकैपटक हजारौंमा भएको अवस्थामा नेपालको बलबुताले भ्याउन नसक्ने भन्दै बेलैमा सचेत भइदिन नागरिकहरुमा आह्वान गरेका छन् ।

‘यसको संक्रमण हजारौंमा भयो भने नेपालले धान्न संभव छैन, ठूला देशले पनि नसकेको कुरा हामी सानो देशले कसरी सक्नू ?’ अधिकारीहरुले भनेका छन्–‘त्यसकारण घर र छिमेकमै पनि एकले अर्कालाई शंका गरौं, घरभित्रै बसौं। सामाजिक दूरी कायम गरौं।’