काठमाण्डौ । सार्वजनिक निष्काशनमा धितोपत्र खरिदका लागि आवेदन दिने सम्बन्धी विद्यमान प्रणाली अव्यवहारिक भएको भन्दै नेपाल धितोपत्र बोर्डले चुस्तदुरुस्त सेवाका लागि Application Supported by Blocked Amount (ASBA)आस्वा प्रणाली लागू गर्ने भएको छ । 

सार्वजनिक निश्कासनमा धितोपत्र खरीदका लागि हालको व्यवस्था अनुसार ७० दिनसम्म समय लाग्ने गरेको, प्रक्रिया निकै झञ्झटिलो रहेको, लागत उच्च हुने गरेको, लगानीकर्ताहरुले आफ्नो लगानी रकममा पूरा प्रतिफल प्राप्त नगरिरहेका, संकलित रकमका कारण बैंकिङ्ग प्रणालीको तरलतामा उतारचढाव आउने गरेको र धितोपत्रको सूचिकरण गर्न समेत लामो समय लाग्ने गरेको जस्ता समस्याहरु लगानीकर्ताहरुले भोगिरहनु परेको स्थितिलाई दृष्टिगत गरी यस समस्यालाई निराकरण गर्ने क्रममा आस्वा प्रणाली लागू गर्ने तयारी भएको हो ।

यो प्रणालीको सम्बन्धमा आवश्यक निर्देशिका बनाउन नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा नेपाल बैंकर्स संघ तथा नेपाल मर्चेन्ट बैंकर्स संघका प्रतिनिधिसहितको समितिले भारत र बंगलादेशको अभ्यास तथा नेपालको वित्तीय प्रणालीको व्यवहारिक पक्ष समेतलाई अध्ययन गरी पेश गरेको “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” बोर्डले स्वीकृत गरेको र यस व्यवस्थालाई २०७३ माघदेखि लागू गर्ने योजना रहेको बोर्डले जनाएको छ ।

सार्वजनिक निष्काशन प्रक्रियालाई थप सरल, व्यवस्थित, पारदर्शी तथा छिटोछरितो बनाई सार्वजनिक निष्काशन लागतलाई समेत न्यून गर्ने र हाल धितोपत्र बाँडफाँडका लागि करिव ७० दिन लाग्ने गरेकोमा उक्त कार्य बढीमा २० दिनभित्र गर्न सम्भव बनाउने उद्देश्यले यो प्रणाली लागू गर्न लागिएको बोर्डको स्पष्टोक्ति छ ।

यस प्रणालीमा हाललाई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी न्यूनतम चुक्ता पुँजी कायम भएको, कम्तीमा २० जिल्लामा शाखा कार्यालय भई सबै शाखामा एबिबिएस बैंकिङ्ग सुविधा उपलब्ध भएको, काठमाण्डौं उपत्यका भित्र कम्तीमा चार शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन भई सूचीकृत भएको लगायतका मापदण्ड पूरा गरेका “क” र “ख” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले बोर्डबाट अनुमति लिई सार्वजनिक निष्काशनको दरखास्त संकलनको काम गर्न सक्ने र यसको सफल कार्यान्वयन पश्चात् “ग” वर्गका वित्तीय संस्थाहरुले समेत उक्त कार्य गर्न सक्ने व्यवस्था गर्न सकिने बताइएको छ ।  

यस प्रणाली अन्तर्गत लगानीकर्ताले आफ्नो खाता रहेको बैंकमा आफूले धितोपत्रमा लगानी गर्न चाहेको रकम रोक्का राख्न बोर्डले तोकेको ढाँचा अनुसारको विद्युतीय रुपमा धितोपत्र खरिदका लागि आवेदन गर्नसक्ने, धितोपत्र बाँडफाँट भएपछि धितोपत्र पाउने लगानीकर्ताको खाताबाट निष्काशनकर्ता कम्पनीको खातामा खरिद रकम हस्तान्तरण हुने र धितोपत्र नपाएको अवस्थामा लगानीकर्ताको खातामा रोक्का रहेको रकम फुकुवा हुने व्यवस्था रहेको छ ।

यो प्रणाली लागू भएसँगै विद्यमान धितोपत्र बाँडफाँडको समयमा उल्लेख्य सुधार हुने, नेपाल राष्ट्र बैंकमा रकम जम्मा गर्नुपर्ने अवस्थाको अन्त्य हुने, निष्काशित धितोपत्रको सूचिकरण समेत छिटो गर्न सम्भव भई लगानीकर्ताहरुले बजारबाट छिटो निकास पाई लाभान्वित हुनसक्ने बोर्डले जनाएको छ ।

यस्तै, लगानीकर्ताहरुले बैंक मार्फत आवेदन गर्दा हरेक लगानीकर्ताको पहिचान(KYC)मा सहयोग पुग्ने र बित्तीय क्षेत्रमा पारदर्शिता अभिवृद्धि हुने, बित्तीय बजारमा अरबौं ंरकम बिना प्रतिफल होल्ड भई बस्ने अवस्थाको अन्त्य हुने, छद्मभेषी लगानीकर्ताहरु न्यूनिकरण भई बास्तविक लगानीकर्ताहरु लाभान्वित हुने तथा हाल आइपीओदेखि सूचिकृत गर्नसम्म लाग्ने गरेको करीब ६ महिनाको समयावधिलाई २ महिनाभित्र गर्न सकिनेछ । 

यो प्रणाली लागू भएपछि धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रियामा ब्रेक थ्रु(ठूलो फड्को मार्नु) हुने र धितोपत्रको प्राथमिक बजारमा संरचनात्मक परिवर्तन हुने बोर्डका प्रवक्ता निरज गिरीले बताए ।