काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकको वृद्धिसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

आज परिसूचक ५०.२० अंकले बढेर २४२४.८४ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.४७ अंकको वृद्धिका साथ ४५२.०६ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम ह्वात्तै बढेर सवा ९ अर्बभन्दा माथिको भएको छ। 

बजार विश्लेषक गोविन्दप्रसाद घिमिरे बजार बढ्नुमा विभिन्न कारणहरु रहेका बताउँछन्। स्टक डिलरले धितोपत्र कारोबारको लाइसेन्स पाउनु, पुँजीगत लाभकर बढ्दा सरकार बजारका नियामक निकायप्रति ललिचलो हुनु, सेयरधितो कर्जाको ब्याजदर घट्नुले लगानीकर्ताहरुको मनोबल उच्च हुँदा बजार बढ्नुमा टेवा पुगेको उनको तर्क छ। 

यस्तै केही बीमा कम्पनीहरुले आकर्षक लाभांश घोषणा गर्नु र बाँकीले राम्रै लाभांश प्रस्ताव गर्न सक्ने भन्दै लगानीकर्ताहरु बीमा समूहमा झुम्मिँदा पनि बजारले गति लिएको घिमिरे बताउँछन्। अझ विशेषगरी लगानीकर्ताहरु अहिले निर्जीवन बीमा समूहमा बढी आकर्षित भइरहेको उनको भनाइ छ।

बजारमा सक्रिय लगानीकर्ता टीकाराम चापागाई पनि अहिले अन्य क्षेत्रमा भन्दा पनि सेयर बजारमा चौतर्फी मौहोल सिर्जना भएका कारण बजार लगातार बढिरहेको बताउँछन्। राजनीतिक अस्थिरता र कोरोना त्रासलाई पन्छाउँदै अन्य क्षेत्रमा भन्दा सेयर बजारबाट राम्रै प्रतिफल हुने आशाका कारण पनि बजारमा पैसा खन्याउनेहरु बढिरहेको उल्लेख गर्दै उनले भने, ‘जति धेरै लगानी भित्रिन्छ, बजार उति बढ्ने नै हो, यतिबेला लगानीकर्ताहरुको मनोबल उच्च छ, सेयर बजारमा लगानी गर्दा अहिले डुब्दैन भन्ने उनीहरुको धारणा छ।’

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली आएको छ भने एउटा मात्रै रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूह सबैभन्दा बढीले २२१.६१ अंकले उकालो लागेछ छ। जीवन बीमा समूहमा १६५.६८ अंकले बढेको आज बैंकिङ समूहमा २१.३६ अंक, होटेल्स् समूहमा २४.५१ अंक, विकास बैंक समूहमा २०.८१ अंक, जलविद्युत् समूहमा ५१.१३ अंक, वित्त समूहमा १४.१५ अंक, उत्पादन तथ प्रशोधन समूहमा ५१.५६ अंक, अन्य समूहमा १०४.७५ अंक, लघुवित्त समूहमा १०२.५३ अंक, बीमा समूहमा १६५.६८ अंक र म्युचुअल फन्ड समूहमा ०.०५ अंकको बढोत्तरी भएको छ।

यो दिन व्यापार समूह ७३.३५ अंकले ओरालो लागेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०७ कम्पनीका १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैयाँमा कारोबार भएको छ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ६६ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको यो नेपाल टेलिकमको ३१ करोड ८९ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २४ करोड २८ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको २३ करोड ५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको २२ करोड १४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २० करोड ८२ लाख रुपैयाँ, प्रभु बैंकको २० करोड ६८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २० करोड ६१ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १९ करोड ५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज १३ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन मिथिला लघुवित्त, पोखरा फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा गुराँस लघुवित्त, नागरिक लगानी कोष, एनसीसी बैंक, सर्पोट माइक्रोफाइनान्स, रिडी हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, ईएमई जनरल इन्स्योरेन्स, माउन्टेन इनर्जी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। 

आज शिवश्री हाइड्रोपावर र आशा लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।

यो दिन नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।