काठमाण्डौ । सेयरबजारको हटकेक नवील बैंक लिमीटेडको खूद नाफामा सामान्य मात्र बढोत्तरी भएको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकले १ अर्ब ८३ करोड नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा  बैंकको खूद नाफा १ अर्ब ७४ करोडमा सीमित  थियो ।

अघिल्लो वर्ष ६ अर्ब १८ करोडमा सीमित चुक्तापूँजी बढेर ८ अर्ब ४ करोड पुगेको छ । यसरी चुक्तापुँजीमा ३० प्रतिशतको वृद्धि भए पनि खूद नाफा तर्फ भने ५.१४ प्रतिशतको मात्र बढोत्तरी भएपछि यसले वार्षिकीकृत प्रतिसेयर आम्दानीमा हिट गरेको छ । यहीकारण बैंकको अघिल्लो वर्षको यही अवधिमा ५६.६९ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर यो वर्ष ४५.५७ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी बढेको छ । अघिल्लो वर्ष २ अर्ब ६६ करोड रहेको यस्तो आम्दानी बढेर २ अर्ब ९३ करोडको उचाईमा पुगेको हो । 

बैंकको निक्षेप संकलनमा झिनो मात्र प्रगति भएको देखिएको छ । अघिल्लो वर्ष १ खर्ब २० अर्ब निक्षेप संकलन गरी ९० अर्ब ३० करोड कर्जा परिचालन गरेको बैंकले यो वर्ष १ खर्ब २१ अर्ब  निक्षेप संकलन गरी १ खर्ब ८५ करोड बराबरको कर्जा परिचालन गरेको छ ।

बैंकको रिजर्बकोष थप मजबुत भएको छ । अघिल्लो वर्ष ७ अर्ब १५ करोड रहेको कोष थप मजबुत भई ७ अर्ब ८५ करोडको बनेको छ ।

बैंकको खराब कर्जाको अनुपात भने बढेको छ । अघिल्लो वर्ष ०.९ प्रतिशत रहेको यस्तो कर्जा बढेर १.१३ प्रतिशत पुगेको हो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.३७ गुणा कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको सीसीडी रेसियो ७६.४९ प्रतिशत रहेको देखिएको छ । यसको अर्थ बैंक थप कर्जा बिस्तारको अवस्थामा छ । तर, बैंकमा निकै ठूलो परिणामा रहेको एनसेलको रकम बाहिरिने भनिएपछि यसले बैंकको सीसीडी रेसियोमा हिट गर्नसक्ने अवस्था चाहि जस्ताको तस्तै नै छ ।