काठमाण्डौ । प्रविधिको विकाससँगै पछिल्लो समय बैंक तथा वित्त संस्थाका ग्राहकको पनि डिजिटल बैंकिङ अर्थात अनलाइन काराबारमा तीव्र रुचि देखिएको छ। 

समयको सदुपयोगसँगै झन्झटरहित कारोबार र बैंकसम्म धाउनु नपर्ने भएपछि ग्राहक डिजिटल बैंकिङतर्फ तीव्र रुपमा आकर्षित भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले पुष्टि गरेको छ। विशेषगरी कोभिड–१९ पछि डिजिटल बैंकिङले फड्को मारेको देखिन्छ। यसको पहुँच निरन्तर बढिरहेको तथ्यांकहरुबाट देखिन्छ। 

कोभिड–१९ अघि न्यून संख्याले मात्रै डिजिटल कारोबार गर्दै आएकोमा त्यसपछि भने तीव्र रुपमा बढोत्तरी देखिएको छ। प्रविधिको यो फड्कोले बैंक तथा वित्तीय संस्थालाई समेत सहज भएको छ। 

अनलाइन कारोबार गर्ने ग्राहकको संख्या बढेसँग अहिले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। पछिल्लो १ वर्षमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुमा मोबाइल बैंकिङ प्रयोग गर्ने ३८ लाख १२ हजार ७५३ ग्राहक थपिएको राष्ट्र बैंकले जनाएको छ। 

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल १ करोड ९७ लाख ५४ हजार २८८ ग्राहकले मोबाइल बैंकिङ प्रयोग गरिरहेको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ। गत आर्थिक वर्षको यही अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ५९ लाख ४१ हजार ५३५ थियो। 

विभागको तथ्यांकमा समीक्षा अवधिसम्म आउँदा ‘क’ वर्गका वाणिज्य बैंकमा मात्रै १ करोड ७१ लाख ३२ हजार ६३९ ग्राहकले यो सुविधाको प्रयोग गरिरहेका छन्। विकास बैंकमा मोबाइल बैंकिङका कुल प्रयोगकर्ता २३ लाख ९३ हजार ५ छन् भने फाइनान्स कम्पनीका कुल १ लाख २५ हजार ७९१ ग्राहकले उक्त सेवा लिइरहेका छन्। 

केन्द्रीय बैंकका अनुसार गत मंसिरमा वाणिज्य बैंकमा १ करोड ४१ लाख ४५ हजार ९१०, विकास बैंकमा १७ लाख २५ हजार ६५ र वित्त कम्पनीमा ७० हजार ५६० ग्राहकले मात्रै मोबाइल बैंकिङ चलाइरहेका थिए।

एक वर्षको अवधिमा वाणिज्य बैंकमा सबैभन्दा बढी मोबाइल बैंकिङका ३० लाख ८ हजार ७२९ प्रयोगकर्र्ता थपिएका हुन्। यो अवधिमा विकास बैंकमा ६ लाख ६ हजार ७९३ ग्राहक र फाइनान्स कम्पनीमा ५५ हजार २३१ ग्राहक थपिएका छन्।

त्यसैगरी यस अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु पनि ह्वातै बढेका छन्।  समीक्षा अवधिसम्म बैंक तथा वित्तीय संस्थामा इन्टरनेट बैंकिङ चलाउनेको संख्या २ लाख ४९ हजार १३९ ले बढेर १७ लाख ६९ हजार ७३९ पुगेको छ। गत मंसिरमा यो सुविधा प्रयोग गर्ने ग्राहककोे कुल संख्या १५ लाख २० हजार ६०० मात्रै थियो। 

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा वाणिज्य बैंकका १३ लाख २१ हजार ४८४ ग्राहकले इन्टरनेट बैंकिङको प्रयोग गर्छन् भने विकास बैंकका ४ लाख ३७ हजार ११४ र फाइनान्स कम्पनीका ११ हजार १४१ ग्राहकले उक्त सेवाको प्रयोग गर्छन्।

राष्ट्र बैंकले एटीएम, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्डलगायतका ग्राहकको संख्या तथा कारोबारमा पनि निरन्तर वृद्धि भइरहेको जनाएको छ।