काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार झन्डै ५० अंकले ओरालो लागेको छ। 

आज बजार ४९.१८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक ३०४४.८७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि ८.५९ अंकले घटेर ५६२.८६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे १५ अर्ब रुपैयाँबराबरको हाराहारीमा भएको छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पछिल्लो अभिव्यक्तिले बजारमा अन्यौलता सिर्जना हुँदा घट्न पुगेको बताउँछन्। गभर्नर अधिकारीले सेयर धितोको रिसाइकल गरेर सीमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सीमा तोकिएको बताएका थिए। 

बिष्टले सेयर धितो कर्जाको सीमाले बजार कुनै पनि हालतमा प्रभावित नहुने दाबी गरे। ‘गभर्नर अधिकारीका कुरालाई गलत ढंगले बजारमा प्रचार गरियो, यो सबै बजार घटाउने खेल भएको हो’, उनले भने, ‘तर बजार ३००० विन्दुमुनि आउने सम्भावना कम छ।’

बिष्टले आजको बजार घटाइलाई सामान्य करेक्सनकै रुपमा लिनुपर्ने बताउँछन्। ‘बजार केही दिनमै लयमा फर्किन्छ’, उनले भने, ‘त्यसैले आत्तिहाल्नुपर्ने अवस्था छैन।’

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला बजारको घटाइलाई स्वाभाविक करेक्सनका रुपमा बुझ्नुपर्ने बताए। ‘बजारले करेक्सन खोजेको थियो’, उनले भने, ‘बजार ४०० अंकले बढ्दा १०० अंकले घट्छ भन्ने कुरा बुझ्न जरुरी छ।’

क्लबहाउसलगायतका सामाजिक सञ्जालमा बजार अब घट्छ भनेर गलत हल्ला फैलाउने काम भएकोप्रति बास्तोलाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘यही गलत हल्लाले बजार केही प्रभावित भएको देखिन्छ’, उनले भने, ‘तर बजारमा सोचेजति करेक्सन आइसकेकोले अब १–२ दिनमै बजार फर्किनेछ।’

बास्तोलाले पनि बजार ३००० विन्दुभन्दा मुनि नआउने दाबी गरे।  

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा रातो पोतिएको छ भने एउटा हरियाली छाएको छ। 

यो दिन वित्त समूहमात्रै ०.६८ प्रतिशतले उकालो लागेको छ। 

आज जलविद्युत समूह सर्वाधिक २.४२ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह १.९६ ले घटेको यो दिन बैंकिङ समूहमा १.५ प्रतिशत, विकास बैंक समूहमा ०.८९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.९४ प्रतिशत, लगानी समूहमा १.६९ प्रतिशत, जीवन बीमा समूहमा १.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७१ प्रतिशत, अन्य समूहमा १.८८ प्रतिशत र व्यापार समूहमा १.५७ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५.१३ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक १ अर्ब ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको ८७ करोड ९ लाख रुपैयाँबराबरको कारोबार भएको आज जीवन विकास लघुवित्तको ७४ करोड ९२ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ३८ करोड २८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३४ करोड २१ लाख रुपैयाँ, अपी पावरको ३३ करोड ५६ लाख रुपैयाँ, जानकी फाइनान्सको ३३ करोड ३१ लाख रुपैयाँ, नेसनल हाइड्रोको ३१ करोड ८५ लाख रुपैयाँ, गुडविल फाइनान्सको २९ करोड २० लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको २७ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीका सेयरधनीहरुमा मालामाल भएका छन्। यो दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला जलविद्युतका सेयरधनीहरु मालामाल भएका हुन्। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशत बढीले उकालो लागेर पोजिटिभ सर्किट लागेको छ।
आज रुरु जलविद्युतका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको छ।