काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएका छन्। 

नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो। ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे उनलाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। 

खनाललाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको छ। वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ। सामान्य अवस्थामा रहेका खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ। 

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार नेता खनालको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ। आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको छ।