काठमाण्डौ । सेयर बजारमा बुधबार पनि झिनो गिरावट आएको छ। 

बजार आज ०.३६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०४०.७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२८ प्रतिशतले उकालो लागेर ३९४.६७ को विन्दुमा उक्लिएको छ। हिजोको तुलनामा कारोबार रकम घटेर १ अर्ब ४० करोड रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल अहिले माहौल सबैतिर सकारात्मक रहेको बताउँछन्। ‘तर, तरलता अभावकै कारण बजारले गति लिन सकेको छैन’, उनले भने। 

बजारको पैसा मुद्दति निक्षेपतिर पनि गएकोजस्तो देखिएको लम्साल बताउँछन्। ‘त्यसैले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्’, उनले भने, ‘अहिले नै बजारमा ठूलो उतारचढाव हुन अवस्था छैन। धेरै तल जाने अवस्था पनि छैन र तत्कालै माथि जाला भन्ने अवस्था पनि छैन।’

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने सबैतिर सकारात्मक भए पनि बजारले गति लिन नसकेको बताउँछन्। ‘अहिलेको बजार बैंकको ब्याज नबढ्दासम्म नघट्ने र ब्याज घटेर तल नआउँदासम्म माथि नजानेजस्तो देखिन्छ’, उनले भने।

चाडपर्वको सिजन पनि सुरु भएकोले सरकारले बाध्य केही वस्तुको आयात खुकुलो गर्न सक्ने न्यौपाने बताउँछन्। ‘अहिलेको अवस्थामा आफ्नै पैसा छ भने लगानी गर्न उपयुक्त छ’, उनले भने, ‘तर, ऋण खोजेर लगानी गरिहाल्ने अवस्था भने छैन।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली र ६ वटामा रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक ०.६८ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ०.६१ प्रतिशतले बढ्दा वित्त समूह ०.४४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०५ प्रतिशत, लघुवित्त समूहमा ०.०७ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३१ प्रतिशतको बढोत्तरी भएको छ। 

आज जीवन बीमा समूह सर्वाधिक ०.४८ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह ०.२८ प्रतिशतले घट्दा व्यापार समूहमा ०.१८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०१ प्रतिशत, अन्य समूहमा ०.२२ प्रतिशत र लगानी समूहमा ०.२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँमा किनबेच भएको छ। 

यो दिन रिडी पावरको सर्वाधिक १८ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ६ करोड ९० लाख रुपैयाँबराबरको कारोबार हुँदा नबिल बैंकको ४ करोड २६ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ३ करोड ६५ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ३३ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड ८८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ६१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ५७ लाख रुपैयाँ, दोर्दी खोला जलविद्युतको २ करोड ५६ लाख रुपैयाँ र अपी पावरको २ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। श्वेत–गंगा हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा मन्दाकिनी हाइड्रोपावर, अपर हेवाखोला जलविद्युत, अपर सोलु हाइड्रो र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। दोर्दी खोला जलविद्युतको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

आज सामलिंग पावर र मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।