काठमाण्डौ । यो साता २ दिन घटेको सेयर बजार बुधबार झिनो अंकले उकालो लागेको छ। 

आज बजार १.१८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २९७७.०२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ अंकले बढेर ५५०.६९ को विन्दुमा पुगेको छ। कारोबार रकम भने घटेर सवा ९ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। 

नेपाल पुँजीबजार लगानीकर्ता संघकी राधा पोखरेलले नियामक निकायहरुको अस्थिर नीतिनियमले बजारमा दबाब परेको बताइन्। ‘लामो समय बढेकोले बजारले करेक्सन पनि खोजेको थियो’, उनले भने, ‘त्यसैले बजार पछिल्लो समय घट्नुलाई सामान्य रुपमा लिन पनि सकिन्छ।’

घट्दो बजारमा अवसर हुने उल्लेख गर्दै पोखरेलले प्रतिफलका आधारमा राम्रा कम्पनीहरु छनोट गरी लगानी गर्दा फाइदा नै हुने बताइन्। ‘लाभांशको समय भएकोले अब बजार धेरै घट्ने सम्भावना छैन’, उनले भनिन्, ‘त्यसैले बजार घट्यो भने आत्तिहाल्नुपर्ने अवस्था देखिँदैन।’

बजार जानकार प्रेम ओली राष्ट्र बैंकको पछिल्लो सर्कुलरले बजार प्रभावित भएको हुन सक्ने बताउँछन्। ‘यसैको बहानामा बजार घटाउने काम पनि भएको छ’, उनले भने, ‘ऋण सेटलमेन्ट गर्नुपर्ने भएकोले दबाब पनि परेको हुन सक्छ।’

बजार घटबढ हुनु स्वाभाविकै रहेको बताउँदै ओलीले भने, ‘राष्ट्र बैंकको पछिल्लो सर्कुलर परिमार्जन गर्नुपर्छ। जसले बजार अलि बढी नै नकारात्मक प्रभाव परेकोजस्तै देखिन्छ।’

बजार बुलिस नै रहेको पनि ओलीको भनाइ छ। ‘अहिले घटेको बेला लगानीको अवसर छ’, उनले भने, ‘अब १–२ दिनको कारोबार हेरेपछि मात्र बजारको लय के होला भनेर भन्न सकिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ५ वटा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.७६ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ०.७१ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.४२ प्रतिशत, लगानी समूहमा ०.०८ प्रतिशत र जीवन बीमा समूहमा ०.४ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन वित्त समूह सर्वाधिक २.८६ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ०.७४ प्रतिशतले घटेको आज जलविद्युत समूहमा ०.५७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०४ प्रतिशत, लघुवित्त समूहमा ०.११ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४७ प्रतिशत र अन्य समूहमा ०.११ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५४.६५ रुपैयाँमा किनबेच भएका छन्।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५९ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावरको ३० करोड १४ लाख रुपैयाँ, अपी पावरको २३ करोड ७५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २३ करोड ३६ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको २२ करोड ११ लाख रुपैयाँ, नेपाल बैंकको १८ करोड १२ लाख रुपैयाँ, नबिल बैंकको १७ करोड ७४ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १६ करोड ३२ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १५ करोड ४८ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज रुरु जलविद्युतका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

यसैगरी खानीखोला हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।