काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार उतारचढावबीच सेयर बजार झिनो अंकले उकालो लागेको छ। 

आज बजार ०.२७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २९४७.७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५५ अंकले उकालो लागेर ५४८.८७ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि सवा ९ अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजारको पछिल्लो चालले विस्तारै लगानीकर्ताको मनोबल बढ्दै गएको देखिने बताउँछन्। ‘मौद्रिक नीतिमा पछिल्लो व्यवस्थाले लगानीकर्ताको मनोबल गिरेकोजस्तो देखिएको थियो तर अहिले विस्तार त्यसको प्रभाव घट्दै गएको देखिन्छ’, उनले भने।

हिजो र आज बजार सकारात्मक हुनु र विस्तार कारोबार रकम पनि बढ्दै जानुले अबका दिनमा बजार सकारात्मक नै रहने सम्भावना रहेको ढकालको भनाइ छ। ‘केही कम्पनीले अहिले लाभांश घोषणा गरिसकेका छन्, अब असोज महिनाबाट धमाधम बैंक तथा कम्पनीहरुले लाभांश घोषणा गर्ने हुँदा बजारले गति लिनेछ’, उनले भने।

बैंकको ब्याजदर सामान्य बढ्ला तर एकल विन्दुमै रहने भएकोले बजारलाई खासै प्रभाव नपार्ने ढकालको तर्क छ। ‘चाडपर्वका बेला रेमिट्यान्स भित्रिने र सरकारी बजेट पनि स्थानीय निकायमा पुग्ने हुँदा तरलतामा सन्तुलन आउँछ’, उनले भने, ‘त्यसैले चारैतिरबाट सकारात्मक रहेकोले बजार माथि नै जाने सम्भावना छ।’

सक्रिय लगानीकर्ता विदूर भट्टराई भने बजार अझै केही समय साइडवेजमा जान सक्ने बताउँछन्। ‘नियामक निकाय पुँजीबजारप्रति कोठर बन्दा बजारमा सामान्य प्रभाव परेजस्तो देखिन्छ, त्यसैले बजारले गति लिन अझै केही समय लाग्ने देखिन्छ’, उनले भने। 

बजार माथि जानलाई आधार चाहिने उल्लेख गर्दै भट्टराईले त्यस्ता आधार नबनुन्जेलसम्म बजार साइडवेजमै रहने सम्भावना रहेको बताए। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.४८ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ०.८७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.८६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१२ प्रतिशत, विकास बैंक समूहमा ०.०८ प्रतिशत, वित्त समूहमा ०.०९ प्रतिशत र जीवन बीमा समूहमा ०.५२ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक २.५४ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.३५ प्रतिशतले घटेको आज अन्य समूहमा ०.४३ प्रतिशत, लघुवित्त समूहमा ०.५६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०२ प्रतिशत र लगानी समूहमा ०.६२ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५.३२ रुपैयाँमा किनबेच भएका छन्।

आज अरुण भ्याली हाइड्रोपावरको सार्वधिक ६१ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावरको ४७ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेसनल हाइड्रोको ३४ करोड ३० लाख रुपैयाँ, नबिल बैंकको ३० करोड ७३ लाख रुपैयाँ, अपी पावरको २८ करोड ३५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २७ करोड ७८ लाख रुपैयाँ, रैराङ हाइड्रोपावरको २३ करोड ७८ लाख रुपैयाँ, अरुण काबेली पावरको २० करोड २० लाख रुपैयाँ, रिडी हाइड्रोपावरको १८ करोड ९० लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १८ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको सेयरधनीहरु मालामाल भएका हुन्। अजोडको सेयरभाउमा १० प्रतिशत र मनकामना स्मार्ट र सानिमा लाइफको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट नै लागेको छ। 

आज कालिका पावरका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।