काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ ।

नेपाल लाइफले गत आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा खुद नाफातर्फ ७२ प्रतिशतको वृद्धि हासिल गर्दै  ४० करोड ९६ लाख पुर्याएको हो । अघिल्लो वर्ष यो अवधिमा कम्पनीको खुद नाफा २३ करोड ८० लाख मात्र थियो ।

कम्पनीले आज प्रकाशित गरेको बित्तीय विवरण अनुसार चालु आबको तेश्रो त्रैमाससम्म प्रिमियमबाट खुद आम्दानी ७ अर्ब ८१ करोड रुपैयाँ भएको छ, जबकि अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब २३ करोड मात्र थियो ।

यो कम्पनीले पुनर्बिमाको कमिसनबाट ९३ लाख ९१ हजार रुपैयाँ समेत आर्जन गरेको छ ।

यो बिमा कम्पनीले तेश्रो त्रैमाससम्म ३१ अर्ब ६१ करोड लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २२ अर्ब मात्र लगानी गरेको थियो । यो वर्ष यो बिमा कम्पनीले १ अर्ब ९४ करोड रुपैयाँ बिमा दाबी भुक्तानी गरेको छ भने ५८ करोड रुपैयाँ बिमा भुक्तानी पेण्डिङमा छ । यो वर्षको तेश्रो त्रैमाससम्म नेपाल लाइफले १५ हजार ८ सय ७२ जना क्लाइन्ट थपेको छ । अब यो कम्पनीसँग कुल पोलिसी संख्या १० लाख २४ हजार पुगेको छ ।

टप जीवन बिमा कम्पनीको चुक्तापुँजी एफपीओको हालैको बाँडफाँड र २५ प्रतिशत बोनस सेयरको पुँजीकरणपछि ३ अर्ब ९ करोड रुपैयाँको उचाईमा पुगेको छ । जगेडा कोषमा ४ अर्ब ७३ करोड रुपैयाँ छ भने बिमा कोषमा ३७ अर्ब १८ करोड रुपैयाँ जम्मा भएको छ । एफपीओबाट मात्र यो कम्पनीको जगेडा कोषमा ४ अर्ब १ करोड रकम थपिएको हो ।

गत वर्ष यो अवधिमा यो कम्पनीका जगेडा कोषमा ७२ करोड ८७ लाख रुपैयाँ मात्र थियो । यो कम्पनीले १ हजार ४ सय २५ रुपैयाँ प्रिमियम मूल्यमा ३० लाख ९६ हजार कित्ता सेयरको अतिरिक्त निश्कासन गरेको थियो ।

यो कम्पनीको प्रति सेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा, प्रति सेयर नेटवर्थ २६० रुपैयाँ १४ पैसा र मूल्य आम्दानी अनुपात १४१ गुणा कायम भएको छ ।

यो कम्पनीको जगेडा कोषमा जम्मा भएको उच्च रकम र खुद नाफातर्फको समेत उच्च प्रगति हेर्दा आगामी वर्ष सेयरधनीले राम्रो बोनस पाउनसक्ने देखिन्छ । लगातारको उत्कृष्ट प्रदर्शन र प्रगतिकै कारण नेपाल लाइफ इन्स्योरेन्स लगानीकर्ताका लागि एक आकर्षक कम्पनीको रुपमा रहिआएको छ ।