काठमाण्डौ । छिमेकी मुलुक भारतमा टमाटरको भाउ आकासिएको छ। त्यहाँ भाउ दैनिकजसो बढिरहेको छ। भारत सरकारले जनतालाई सस्तो टमाटर उपलब्ध गराउने योजना ल्याए पनि सफल हुन नसकेको देखिन्छ।
एकातिर टमाटरको भाउ बढिरहेको बेला अर्कोतिर केही भारतीय किसानले टमाटर बेचेरै मनग्य आम्दानी गरिरहेका छन्।
भारतको कर्नाटकका एक किसान राजेशले टमाटर बेचेरै भारु ४० लाख रुपैयाँ आम्दानी गरेका छन्। कर्नाटक चामाराजन नगरका राजेशले आफ्नो १२ एकड जमिनमा लगाएको टमाटर बेचेर मनग्य कमाउन सफल भएका हुन्। त्यसो त उनलाई यसपालि भने देशभर टमाटरको अभाव र बढ्दो मूल्यले साथ दियो।
टमाटर बेचेर लाखौँ आम्दानी भएपछि राजेशले यसपालि एसयूभी किनेका छन्। ‘मैले यसपालि टमाटर बेचेरै ४० लाख कमाएँ, जुन अहिलेसम्मकै धेरै हो अनि मैले एसयूभी किनेँ’, राजेशले भने, ‘यदि अझै केही महिना टमाटरको भाउ यस्तै रहने हो भने १ करोड कमाइ हुने मलाई विश्वास छ।’
राजेश अविवाहित हुन्। उनी अहिले बेहुलीको खोजीमा छन्। ‘मेरो परिवारले पहिले पनि धेरै पटक मेरो विवाह गरिदिने योजना बनाएको थियो’, उनले भने, ‘तर, केटी पक्षले सरकारी वा कर्पोरेट कार्यालयमा जागिरे भएकालाई मात्र विवाह गरिदिने भनेर हाम्रो प्रस्ताव अस्वीकार गरे।’
अहिले आफूले खेतीबाट लाखौँ कमाउन सफल भएको उल्लेख गर्दै राजेशले भने, ‘म भन्न चाहन्छु कि समयले साथ दियो भने जागिर खाएर होइन खेती गरेर पनि मनग्य कमाउन सकिन्छ।’
अब आफू नयाँ एसयूभीमा चढेर बेहुली खोज्न जाने पनि राजेशले बताए।
भारतको कर्नाटक राज्यमा सबैभन्दा धेरै टमाटर उत्पादन हुने गर्छ। यो राज्यको कोरल र चमाराजन नगर टमाटरको पकेट क्षेत्र मानिन्छ। –एजेन्सीको सहयोग
22 minutes ago
39 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago