काठमाण्डौ । टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। त्यसपछि टर्की सरकारले संकटकालको घोषणा गरेको छ। भूकम्प प्रभावित क्षेत्रका भवनहरुमा ठूलो क्षति पुगेको जानकारी दिएका छन्।
टर्कीमा उद्धार कार्य द्रुतगतिमा भइरहेको छ तर अधिकारीहरुले अझै धेरै मानिस भग्नावशेषमुनि पुरिएको हुन सक्ने आशंका गरेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण ‘यूएसजीएस’का अनुसार पहिलो भूकम्प सिरियाली सीमानजिकै गाजियनटेपको कहानमरास नजिक महसुस गरिएको थियो। यूएसजीएसका अनुसार यस भूकम्पको म्याग्निच्युड ७.८ मापन गरिएको थियो।
समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको पहिलो धक्का स्थानीय समयअनुसार बिहान ४.१७ बजे गएको थियो। त्यसको केही मिनेटपछि मध्य टर्कीमा दोस्रो भूकम्पको धक्का महसुस गरिएको थियो।
टर्कीको राजधानी अंकारा र लेबनान, सिरिया, साइप्रस, प्यालेस्टाइनलगायत अन्य सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ। टर्कीका आन्तरिक मन्त्री सुलेमान शोइलुले भूकम्पले देशका १० सहर काहमानमार्श, हाताय, गाजियन्टेप, ओस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिसमा ठूलो प्रभाव पारेको बताए।
टर्की र छिमेकी सिरियामा गएको भूकम्पका कारण ५००भन्दा बढीको मृत्यु भएको छ। मृत्यु हुनेको यो संख्या तीव्र गतिमा बढिरहेको अधिकारीहरुले बताएका छन्।
सिरियाको अलेप्पो, लताकिया, हामा र टार्टसमा भूकम्पका कारण ठूलो क्षति पुगेको समाचार छ। एलेप्पोमा ठूलो संख्यामा भवनहरु भत्किएको खबर पनि आएको छ।
विद्रोहीको कब्जामा रहेका क्षेत्रमा कति क्षति भयो भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन।
अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई यस्तो अवस्थामा कस्तो प्रकारको सहयोग उपलब्ध गराउनुपर्छ भनेर मूल्यांकन गर्न आग्रह गरेका छन्।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले टर्की र सिरियामा गएको भूकम्पका कारण अमेरिका चिन्तित रहेको बताएका छन्। उनले लेखेका छन्, ‘म टर्कीका अधिकारीहरुसँग सम्पर्कमा छु। हामी यस अवस्थामा मद्दत गर्न तयार छौँ। हामी टर्कीको अवस्थालाई निगरानी गरिरहेका छौँ।’ –एजेन्सी
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago