काठमाण्डौ । टाटा कम्पनीको नेक्सन इभी र अन्य गाडीहरुमा देखिएको खराबी र यसमा लगानी गर्दा हुने जोखिमका विषयमा बिजशालाले समाचारहरु प्रकाशित गर्न थालेपछि गाडी बुकिङ गरिसकेकाहरुले रद्द गर्न थालेका छन् । 

समाचार प्रकाशित भएपछि आफूहरुको आँखा खुलेको र बग्रेल्ती समस्याहरु देखिएको विषयमा आफूहरुले सुनेको, तर मिडियामै कुराहरु आएपछि पनि नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको तर्फबाट कुनै प्रष्टीकरण नआएको भन्दै टाटाप्रेमी गाडी प्रयोगकर्ताले नेक्सन इभी र हालै लञ्च भएको टियागो इभीको बुकिङ समेत रद्द गर्न थालेका छन् । 

बिजशालामा समाचार प्रकाशित भएपछि धेरै प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा आफूहरुले समेत टाटाको गाडी प्रयोग गरेर दुःख पाएको, समस्याहरुको सही सम्बोधन नभएको र कम्पनी आएका गुनासाहरु सम्बोधन तथा समस्या समाधानमा जिम्मेवारी नदेखिएको प्रतिक्रियाहरु दिइरहेका छन् । आफूलाई  पनि यस्तै समस्या भएको, आफूले पनि यस्तै सुनेको, आफ्ना साथीभाईको गुनासो पनि यस्तै रहेको भन्ने कमेन्टहरु सामाजिक सञ्जालमा बग्रेल्ती देखिएका छन् । 

सर्वसाधारणको यस्तै प्रतिक्रिया देखेर गाडी बुकिङ गरिसकेकाहरुले समेत अहिले नलिने भनेर फोन गर्न थालेका सिप्रदी ट्रेडिङस्थित एक उच्च स्रोतले जानकारी दियो । ‘बिहीबार मात्रै टाटाको इभीमा समस्या रहेछ भन्दै ५० भन्दा बढी फोन कर्पोरेट अफिसमा आयो । बुझाउँदा बुझाउँदा हामी हैरान भइसक्यौं ।’ सिप्रदीका एक कर्मचारीले नाम सार्वजनिक नगरिदिने शर्तमा बिजशालासँग भने–‘हामीले उच्च व्यवस्थापनमा यो विषयमा बोल्नुपर्ने भनेर समाचार आएको दिन नै भनेका हौं । तर उहाँहरुले सुन्नुभएन । यो त मौनम स्वीकृति लक्षणम भनेजस्तो भयो । हामी पनि कन्फ्यूजनमा छौं ।’ 

टाटाले हालै सम्पन्न नाडा अटो शोका क्रममा ५०० बढी टियागो इभी बुक भएको दाबी गरेको थियो । टियागो इभी बुक गरेकाहरुले समेत धमाधम बुकिङ रद्द गर्न थालेका छन् भने केही चाहिँ वेट एण्ड सीको मूडमा देखिएका छन् ।  

राष्ट्रिय स्तरको विकास बैंकका एक सिनियर अफिसरले बिजशालासँग कुरा गर्दै आफूले टाटाको नेक्सन इभी लिन भनेर बुकिङ गरे पनि अब निर्णय परिवर्तन गरेको बताए । ‘यति धेरै समस्या रहेछ । इभीको मुख्य समस्या नै ब्याट्री हो । नेक्सनको समस्या धेरै समयदेखि साथीहरुले भन्दै आएको कुरा हो । जोखिम देखेर निर्णय परिवर्तन गर्ने अवस्था बन्यो ।’ ती अधिकारीले भने–‘हामी ५ जना साथीहरुले सँगै नेक्सन बुक गरेका थियौं । तर बिहीबार नै हामीले ती सबै बुकिङ क्यान्सल गर्यौं । धन्न बेलैमा समाचार आइदियो र हामी ठगिनबाट बच्यौं ।’ 

यसैबीच, समाचार प्रकाशन भएपछि टाटाको इभी खरीद गरेर समस्या भोगिरहेका, यस्तो समस्या साथीभाई वा आफन्तले भोगिरहेको कुरा सुनेकाहरुले सामाजिक सञ्जालमा आफ्नो रिभ्यू प्रस्तुत गरिरहेका छन् । बिजशालाको मुख्य पेज, अन्य सहायक पेजहरु र फेसबुक ग्रुप, ट्वीटर ह्याण्डल लगायतबाट आएका करिब २५०० रिभ्यूमा ९५ प्रतिशतभन्दा बढी टाटाको इभीको ब्याट्री सिस्टम र गुणस्तरमा समस्या रहेकोमा सहमत देखिएका छन् । बाँकी ५ प्रतिशतले चाहिँ टाटाको पक्ष लिँदै मिडियाले विज्ञापन नपाएर समाचार लेखेको, अरु इभी वालाहरुले समाचार लेखाएको जस्ता कमेन्ट गरेका छन् ।

कस्तो छ त रिभ्यू ?
समाचार पोस्ट भएपछि शिवकुमार पौडेल नामका फेसबुक प्रयोगकर्ताले भनेका छन्–'यो पोस्ट गर्ने पालग हो । नेक्सन इभ चढेको ३ वर्ष भो नो इस्यू ।' 

 

-दिलिप मास्के लेख्छन्-'सुन किने आधा, टाटा इभी किने गधा । बाँकी आफैं ।'

-मिराज अहमद हिमालय नामका फेसबुक प्रयोगकर्ताले लेखेका छन्-'मैले भोगिरहेको छु । ४५६ भन्ने तर चलाउँदा २७५ ८५ माइलेज मात्र दिने । सम्बन्धित निकायको ध्यान जाओस्, उपभोक्तालाई न्याय मिलोस् ।' 

-अर्जुन ढुंगाना लेख्छन्-'टाटालाई धेरै विश्वास गर्नुको परिणाम हो यो । काम छैन, अल्गो छ भन्दैमा के काम । नक्कलीलाई किरिम पाउडर लगाएजस्तै हो ।' 

-भरत खड्काले लेखेका छन्-'मेरो पनि नेक्सन इभी को ब्याट्रीमा समस्या देखिएकोले बन्न गएको पनि  पन्ध्र दिन भयो ।' 

-केशव राजले अगाडि लेखेका छन्-'ब्याट्री नै इभी भेहिकलको मुख्य समस्या हो । दैनिक खर्च पेटोलको बचे पनि लामो समयमा ब्याट्री बदल्नुपर्दा लागत बढी परेको छ । त्यसमा पनि नयाँ खरीदसँग आएको ब्याट्रीको दाजोमा पछि परिवर्तन गरिने ब्याटी झनै कमसल आउने भएर दुःख पाएर इभी प्राइभेट टान्सपोर्टेसनका लागि झनै फिजिवल छैन ।' 

-जीवन जिभनले लेखेका छन्-'पेटोल, डिजेल गाडीमा चाहिँ टाटा, महिन्द्रा ठीक हुन्, तर इभीमा चाइनिज नै रोज्दा ठीक होला । टेस्लालाई त चीनले ब्याट्री दिन्छ भनेपछि आफैं सोचौं ।' 

-रोबिट ब्लोनले लेखेका छन्-'सबैभन्दा बढी नेपाली ठग्ने त टाटा नै रैछ, यसो बुझि हेर्दा त ।' 

-सुशील पंगेनीले लेखेका छन्-'क्यान्सिल ।' 

-भूवन पाण्डे लेख्छन्-'टाटाको सानो गाडीहरुमा प्रोब्लम छ । ठूलो गाडी मात्र ठीक छ ।' 

-पवन श्रेष्ठले लेखेका छन्-'मैले भनेको हो त टाटा लियो भने घाटा हुन्छ।' 

-पुष्पराज श्रेष्ठले लेखेका छन्-'फूल चार्जमा १५० भन्दा बढी दिंदैन ।' 

-एजी एडीकेले लेखेका छन्-'टाटा इभी इज भेरी कम्फोरटेबल ।' उनको पोस्टमा भक्तबहादुर बस्नेतले रिप्लाई लेखेका छन्-'दि इस्यू हेयर इजनट अबाउट कम्फर्ट लक्जरी । दि इस्यू इज अबाउट ब्याट्री ।' 

-लामा बद्रीले लेखेका छन्-'मैले पहिले भनेको थिए, यो ....तीको एक्सीपेरिमेन्टका लागि बनाको हो । धेरै पहिलादेखि बनाउन सुरु गरेको चाइनिज इभीमा त प्रब्लम छ, जाबो ...तीले हिजोबाट बनाउन सुरु गरेकोमा त प्रब्लम नहुने त कुरा नै भएन ।'

-प्रिन्स सी वाग्ले लेख्छन्-'यो त सुरुवात मात्र हो । सबै इभी प्रयोगकर्ताहरु रुनुपर्नेछ । हामी हेर्नेछौं ।' 

-श्रेष्ठ दिनेसले लेखेका छन्-'यो समाचार सही हुनसक्छ, किनकि टाटासँग  ब्याट्री  टेक्नोलोजी, इलेक्टोनोकि इन्फोरमेन्ट सिस्टम साथै इभी प्लेटफर्ममा बनेको गाडी नै होइन । त्यसैले धेरै रिसर्च गरेर किन्नु पर्छ । किनकि अटो इण्डष्टीजमा चाइना इज नम्बर  वान । अहिले फेरि इभीमा त वल्र्डको ६० प्रतिशत चाइनाको हुन्छ, हिजोको चाइना होइन।' 

-इश्वर लामिछनोले उनलाई रिप्लाई लेख्छन्-'यस यू आर करेक्ट ।' 

-बसन्त बस्याल भन्छन्-'मैले जमानादेखि भन्दै आएको हुँ, टाटाको इलेक्टिक भेहिकलको  ब्याट्री  ठीक छैन भनेर ।' 

-सञ्जय खरेलले लेखेका छन्-'सबै लुट हो । एकपछि अर्को लुट, नेपाली जनतामाथि ।' 

-डिब्यान बी पौडेलले लेखेका छन्-'एकपटक  ब्याट्री  काम लागेन र फेर्नुपर्यो भने १२ लाख रुपैयाँभन्दा बढीको बजेट आउने रहेछ । यो त प्रयोगकर्तालाई इभीको नाममा जानाजान फसाएजस्तो भयो ।' 

-कृष्णहरि काफ्लेले लेखेका छन्-'यति धेरै नकारात्मक पन छैन होला है । कति नराम्रो समाचार लेखेको पत्रकार महोदय ।' उनलाई रिप्लाई गर्दै सफा नेपाल हाम्रो नेपाल फेसबुक यूजरले लेखेका छन्-'सही हो । भारतमा नेपालमा राम्रो खालको ब्याटी प्याक भएका गाडीहरु पठाउँदैन । अहिले इभी ट्याक्सी किन्ने डूबेका छन् ।' नीलकण्ठ गौतमले सफा नेपाल हाम्रो नेपाललाई रिप्लाई लेखेका छन्-'चाइनाको माल किन्नी पनि डूबेका यिनै आँखाले देखेका छन् हजूर । दुइटै उस्तै उस्तै हुन हजूर ।' 

-उरेश महर्जन लेख्छन्-'त्यो थाहा भएको कुरा हो ।  ब्याट्री  नै काम छैन । एड्भरटाइजमेन्ट मात्र गरेर नेपाली लाई ठगेको हो । सोझासाझा फसे । इण्डियाको पकेट कस्टूमर बनाइरको छ ।' 

मुक्तिनाथ पौडेल लेख्छन्-'टाटारो हाडी लियो कि डूब्यो भन्ने जाने हुन्छ।' 

-बिजय रिजाल नो टेन्सनले लेखेका छन्-'मलाई धेरै साथीले भन्दै थिए । जब  ब्याट्री  ३० प्रतिशतभन्दा तल झर्छ, अनि नसोचेको हुन्छ । ३० प्रतिशतभन्दा तलको मा गाडी चलाउँदा टोलमा १८ २० किमी पनि हिँड्दैन भनेर धेरै साथीहरुको गुनासो आइरहेको छ । सिप्रदीले यो विषयमा केही बोल्दैन ।' 
-नाउकुमार पुनले लेखेका छन्-'ध्यानाकर्षित होस् है सबैलाई । तर एक्कासी यस्तो समाचार आयो जुन कति सत्यमा आधारित छ, भन्ने कुरा कृषि नेक्सन टिगोर इभी चलाउनभएका साथीहरुले बोल्नु परो । के ब्याटीको समस्या समाचारमा जस्तै हो त ? कृपया आफ्नो अनुभव भन्नुपरो, सिप्रदीले पनि आफ्नो स्पष्टीकरण दिनुपर्ने देखियो कि समस्या के हो । मेरो प्रारम्भिक अनुमानअनुसार थोरै प्रतिशतलाई यो समस्या हुनसक्छ है किनकि प्राविधिक कुरा हो नि, तर तेत्रो ठूलो मार्केट इण्डियामा छिटफुट घटनाबाहेक यसरी आएको छेन र बिक्री ओरालो लाग्ने होइन कि उकालो नै लागिरहेको छ । जहाँसम्म नेपाल आउने इभीको  ब्याट्री  अलिक कमजोर हो भन्नेमा मलाई तेति विश्वास लागेको छैन । जेहोस् सबैलाई ध्यानाकर्षित होस् ।' 

-विनोद उपाध्यायले कमेन्ट गरको छन्-'धेरैपटक यो कुरा मैले सामाजिक सञ्जाललमा लेखिसकेको छु । कारण कम्पनीभन्दा पनि हामीलाई चाहिएको स्पेशीफिकेसनको समस्या हो जस्तो लाग्छ मलाई त । टाटाको गाडी नेक्सन यहाँ टोटल्ली फेलियर भयो, तर भारतमा चलिराखेको छ ।' 

हेरौं केही रिभ्यूहरुको स्क्रिनसट: 

यसअघिको समाचार

टाटा नेक्सन इभीको ब्याट्रीमा गम्भीर समस्याः ‘कम्पनीको प्रचार एउटा, वास्तविकता अर्कै’

 

अर्को साता:

१.टाटाको इभी गुड्दागुड्दै आगो लाग्छ, कसरी ? (भिडियोसहित)
२.प्रयोगकर्ताको तीतो अनुभव–‘टाटाको इभी प्रयोग गर्न थालेपछि जीवन नरक बनेको छ’
३.टाटाको टियागोमा झनै ठूलो समस्या, सयौं नेपाली फस्ने डर