काठमाण्डौ । भारतको सरकारी एयरलाइन्स एयर इन्डिया अब टाटा समूहको हुने भएको छ। 

भारतको वित्त मन्त्रालयको निवेश तथा लोक परिसम्पत्ति प्रबन्धन विभागका सचिव तुहिन कान्ताले टाटा समूहले १८ हजार करोड रुपैयाँ बोली लगाएर एयर इन्डिया खरिद गरेको छ। कान्तका अनुसार आउँदो १० डिसेम्बरसम्म एयर इन्डिया टाटा समूहलाई हस्तान्तरण गरिनेछ।

नागरिक उड्डयन सचिव राजीव बंशलका अनुसार टाटा समूहले एयर इन्डिया लिएपछि त्यहाँ हाल कार्यरत कर्मचारीहरुलाई १ वर्षसम्म जागिरमा राख्नुपर्नेछ। त्यसपछि टाटा समूहसँग स्वेच्छिक सेवानिवृत्ति दिने विकल्प हुनेछ। 

कान्ताका अनुसार एयर इन्डियाको लिलामी प्रक्रिया पूर्ण रुपमा पारदर्शी र प्रतिस्पर्धी थियो। ‘लिलामीमा ७ कम्पनीले बोलपत्र पेस गरेका थिए, जसमध्ये ५ वटा खारेज भएका थिए’, उनले भने, ‘गत सेप्टेम्बरमा २ योग्य कम्पनीले बोलकबोल गरेका थिए।’

कान्तका अनुसार सरकारले एयर इन्डियामा विनिवेशको यो निर्णयमा थुप्रै स्तरका निर्णयहरु लिएको थियो। निर्णय लिने कमिटीको अध्यक्षता केन्द्रीय गृहमन्त्री अमित शाहले गरेका थिए। 

भारत सरकारलाई एयर इन्डियाबाट अहिले हरेक दिन २० करोड रुपैयाँ नोक्सानी भइरहेको छ। एयर इन्डियालाई गत अगस्टसम्म कुल ६१ हजार ५६२ करोड रुपैयाँ कर्जा थियो। बोलीदाताले यसमध्ये १५ हजार ३०० करोडको कर्जाको भार उठाउनुपर्ने छ। 

निजीकरणको प्रक्रिया पूरा भएपछि बाँकी ४६ हजार २६२ करोडको कर्जा एयर इन्डिया बेचेपछि सरकारसमक्ष रहनेछ। यो कर्जा एयर इन्डियाको एसेट होल्डिङ कम्पनीको हुनेछ। – एजेन्सी