काठमाण्डौ । पछिल्ला केही महिनादेखि टाटा मोटर्सको नयाँ एसयूभी टाटा ब्ल्याकबर्डको व्यापक चर्चा चलिरहेको छ। यो एसयूभी न त कम्पनीले शोकेस गरेको छ न यसको तस्बिर सार्वजनिक गरेको छ। तर, एसयूभीप्रेमीहरुमा यसको क्रेज दिनप्रतिदिन बढ्दै गएको छ।

मिडिया रिपोर्टहरुका अनुसार नयाँ टाटा ब्ल्याकबर्ड एसयूभी अर्को वर्षसम्म बजारमा लन्च हुन सक्छ। यद्यपि अहिलेसम्म यस एसयूभीका बारेमा कम्पनीले कुनै जानकारी सार्वजनिक गरेको छैन। यो भनिएको छ कि नयाँ टाटा ब्ल्याकबर्ड कम्पनीको एक्स–१ प्लेटफर्ममा आधारित हुन सक्छ। जसमा नेक्सन निर्माण गरिएको छ। 

रिपोर्ट अनुसार टाटा ब्ल्याकबर्ड कम्पनीको हालको नेक्सन मोडलभन्दा ठूलो हुनेछ र नेक्सन र ह्यारियरबीचको प्राइस सेग्मेन्टमा पेस गरिन सक्छ। 

बजारमा आउनुअघि नै यो एसयूभीको नाम मानिसको दिमागमा बसिसकेको छ। यो एसयूभीका धेरै रेन्डरिङ तस्बिरहरू पनि इन्टरनेटमा भाइरल भइरहेका छन्। तर, अहिलेसम्म कम्पनीले यसका बारेमा कुनै जानकारी नदिएको तथ्य पनि छ। 

टाटा ब्ल्याकबर्डका बारेमा मिडियामा धेरै फरक–फरक रिपोर्टहरु आएका छन् र यसका फिचर तथा स्पेसिफिकेसनका बारे फरक–फरक प्रकारका अनुमान लगाइँदैछन्। 

एउटा रिपोर्टका अनुसार यो एसयूभीमा एलईडी हेडलाइट, स्लिम फ्रन्ट ग्रिल, हाई बोनेट र प्लास्टिक बडी क्ल्याडिङ समावेश हुनेछ। इन्जिनका बारे केही भन्न गाह्रो भए पनि यसमा कम्पनीले १.५ लिटर टर्बो–पेट्रोल र १.५ लिटर डिजेल इन्जिन प्रयोग गर्न सक्ने अनुमान गरिएको छ। 

कम्पनीले भविष्यमा यसको इलेक्ट्रिक संस्करण पनि प्रस्तुत गर्न सक्ने अनुमान गरिएको छ। किनकि टाटा मोटर्सले पछिल्लो समय इलेक्ट्रिक सवारीमा धेरै ध्यान केन्द्रित गरेको छ।

प्रारम्भिक चरणमा टाटा मोटर्सले बजारमा होन्डा सिटीसँग प्रतिस्पर्धा गर्ने सेडान कार बनाउने तयारी गरिरहेको थियो। तर, एसयूभीको बढ्दो मागका कारण कम्पनीले आफ्नो निर्णय परिवर्तन गरेको हो। साइजको हिसाबले टाटा नेक्सन सब–फोर मिटर एसयूभी हो र ह्यारियर ४.५ मिटर लम्बाइको छ। त्यसैले दुई मोडेलबीच ठूलो अन्तर छ र टाटा ब्ल्याकबर्डले निःसन्देह यो अन्तर कम गर्नेछ। 

यदि रिपोर्टहरुको विश्वास गर्ने हो भने ब्ल्याकबर्ड कम्पनीले उत्पादन गर्ने एसयूभीको कोडनेम हो र टाटा मोटर्सले हाल यसमा काम गरिरहेको छ। ब्ल्याकबर्ड एसयूभीको नाम विगत केही वर्षदेखि चर्चामा छ। 

कम्पनीले आफ्नो प्रिमियम ह्याचब्याक कार अल्ट्रोज लन्च गर्दा यो कारको नाम समुद्री पन्छी (अल्बाट्रोस) को नामबाट प्रेरित भएको खुलासा भएको थियो। त्यही अवधिमा ब्ल्याकका बारेमा तीव्रगतिमा चर्चा हुन थालेको हो। 

यसबाहेक यो एसयूभीको रेन्डर तस्बिर र मिडिया रिपोर्टहरुमा बताइएका फिचर र स्पेसिफिकेसनलगायतले यो एसयूभीमा कारपारखीको क्रेज बढाएको हो। –एजेन्सी