काठमाण्डौ । काठमाण्डौबाट भद्रपुर उडेको जहाज आकाशबाटै पुनः काठमाण्डौ विमानस्थल फर्किएको छ। 

जहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि बुद्ध एयरको जहाज काठमाण्डौ फर्किएको हो। विमानस्थल कार्यालय भने बुद्ध एयरको ९५३ उडान नम्बरको जहाजको टायरमा प्राविधिक समस्या देखिएपछि तत्कालै फिर्ता बोलाइएको जनाएको छ। 

जहाज काठमाण्डौबाट ३० नटिकल माइल उडेको थियो। जहाज काठमाण्डौ फिर्ता हुँदा केही समय विमानस्थल बन्द गरिएको थियो।

जहाजमा ६९ यात्रु सवार थिए। विमान सकुशल काठमाण्डौ विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। जहाजमा देखिएको प्राविधिक समस्याका विषयमा अनुसन्धान भइरहेको कार्यालयको भनाइ छ।