काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सञ्चालनमा ल्याएको नेप्से अनलाइन कारोबार प्रणालीअन्तर्गतको ट्रेडिङ मेनेजमेन्ट सिस्टम(टीएमएस) मा बैंक इण्टीग्रेसन चाँडै गर्न स्टक ब्रोकरहरुलाई निर्देशन दिएको छ ।

हाल नेप्सेले सञ्चालनमा ल्याएको नट्स(नेप्से अनलाइन कारोबार प्रणाली) को म्याचिङ इन्जिन टीएमएस नेप्सेद्वारा नै निर्माण भएको तर, अब ब्रोकरहरुले अपग्रेड र एड्भान्स टीएमएस बनाउन र बैंक इण्टीग्रेसन गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले निर्देशन दिएका हुन् । 

हिजो आइतबार स्टक ब्रोकर एशोसिएसनको नवनिर्वाचित टिमसँगको भेटमा अध्यक्ष ढुंगानाले यस्तो निर्देशन दिएका हुन् । 

ब्रोकरले आफ्नै टीएमएस बनाई बैंक इण्टीग्रेसन गर्न निर्देशन दिएको उनले बिजशालासँग बताए ।

टीएमएसलाई थप प्रभावकारी बनाई बैंक इन्टीगे्रसनको कार्य चाँडै सम्पन्न गरी यसलाई लगानीकर्ताहरुले आफ्नो चाहना अनुरुपका धितोपत्र बजारका विभिन्न उपकरणमा लगानी गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको लगानीकर्तामैत्री बजार बनाउन ब्रोकरहरुलाई कडा निर्देशन दिइसकेको बोर्ड अध्यक्ष ढुंगानाको दाबीसमेत छ ।

नेप्सेको अनलाइन कारोबार प्रणालीमा हाल डिम्याट खाता इण्टीग्रेसन भए तापनि हालसम्म लगानीकर्ताहरुको बैंक खाता इण्टीग्रेसन हुन सकेको छैन ।

नेप्सेले अनलाइन कारोबार प्रणालीको मुख्य सिस्टम बनाए तापनि ब्रोकर कम्पनीहरु स्वयंले आफ्ना लगानीकर्ता तथा ग्राहकलाई सहजताका लागि आफैं टीएमएस बनाउने अन्तर्राष्ट्रिय चलन रहेको छ।

ब्रोकरहरुले अलग्गै क्यापटेक प्रालि दर्ता गरी टीएमएस बनाउने भने तापनि हालसम्म कुनै ठोस प्रगति हुन सकेको छैन । बजारको बढ्दो आकार र कारोबार संख्यामा भएको वृद्धिले २ वर्ष प्रक्षेपित प्रयोगकर्ताको क्षमता धान्न नसकेर कहिलेकाहीँ कारोबार नै प्रभावित भइरहेको छ ।