काठमाण्डौ । प्रयोगकर्ताका आधारमा विश्वको दोस्रो ठूलो बजारका रुपमा रहेको भारतमा टिकटक पुनः प्रवेश गर्न प्रयासरत छ।

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स यसको भारतीय कारोबार बिक्री गर्ने योजना बनाइरहेको छ। अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार बाइटडान्सले सर्ट भिडियो एप टिकटकको भारतीय कारोबारलाई मुकेश अम्बानीको स्वामित्व रहेको रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) लाई बिक्री गर्न सक्ने सम्भावना छ। यस विषयमा दुवै कम्पनीहरुबीच जुलाईको अन्तिममा छलफल सुरु भएको थियो। यद्यपी दुवै कम्पनी अहिलेसम्म कुनै पनि निष्कर्षमा पुगिसकेका छैनन्। यस विषयमा रिलायन्स, बाइटडान्स र टिकटकले कुनै पनि प्रतिक्रिया दिएका छैनन्। 

लद्दाखको गलवानमा भएको सीमा विवादका कारण भारत सरकारले ५९ चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाएको थियो। यसमा टिकटक, विच्याट, अलीबाबा गुप्रको यूसी ब्राउजर र यूसी न्युजजस्ता लोकप्रिय एप समावेश थिए। यसपश्चात भारतले गत महिना पनि चीनका ४७ एपलाई प्रतिबन्ध लगाएको थियो। यसमा अधिकांश पहिले प्रतिबन्ध भएका एपका क्लोनहरु समावेश थिए।

यसरी भारतले अहिलेसम्म चीनका १०६ वटा एपहरुलाई प्रतिबन्ध लगाइसकेको छ। टिकटकको भारतीय कारोबारको मूल्य ३ बिलियन डलरको नजिक पुगिसकेको छ। 

गत साता अमेरिकाले पनि चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउने अनुमति प्रदान गरेको थियो। यस सम्बन्धमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एक प्रस्तावमा हस्ताक्षर गरिसकेका छन्। तथापि अमेरिकाले बाइटडान्सलाई टिकटकको अमेरिकी कोरोबार कुनै अमेरिकी कम्पनीलाई बिक्री गर्नका लागि १५ सेप्टेम्बरसम्मको समय दिएको छ। यदि बाइटडान्सले १५ सेप्टेम्बरभित्र कुनै पनि सम्झौता गर्न सकेन भने टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाइनेछ। 

टिकटकको अमेरिकी कारोबार खरिद गर्नका लागि सर्वप्रथम माइक्रोसफ्ट अगाडि आएको थियो। माइक्रोसफ्टका सीईओ सत्या नडेलाले राष्ट्रपति ट्रम्पलाई यसबारे जानकारी दिइसकेका छन्। ट्रम्पले पनि माइक्रोसफ्टको प्रस्ताव स्वीकार गरेका छन्। 

यद्यपि टिकटकको अमेरिकी कारोबार बिक्री गर्नेबारे माइक्रोसफ्ट र बाइटडान्सबीच अहिलेसम्म कुनै पनि अन्तिम सम्झौता भइसकेको छैन। 

यसैबीच गत साता ट्विटरले पनि टिकटकको अमेरिकी कारोबार खरिद गर्नेबारे छलफल गरिरहेको भन्ने खबर बाहिरिएको थियो। टिकटकको अमेरिकी कारोबारको मूल्य ३० बिलियन डलर रहेको छ। 

सन् २०१९ मा बाइटडान्सले भारतमा ४३.७ करोड भारतीय रुपैयाँबराबरको कारोबार गरेको थियो। यसबीच कम्पनीले ३.४ करोड भारतिय रुपैयाँ मुनाफा आर्जन गरेको थियो। अमेरिकाबाट कम्पनीले १०४० करोड रुपैयाँ आम्दानी गरेको थियो। 

त्यस्तै चीनबाट कम्पनीले ४००० करोड रुपैयाँ आर्जन गरेको थियो। कारोबार आम्दानीको हिसाबबाट भारत बाइटडान्सको शीर्ष १० देशमा समावेश छैन। – एजेन्सी