काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले निकै धेरै खर्च गरी बनाएको भनिएको ‘अनलाइन सेयर कारोबार प्रणाली’ कार्यान्वयनमा आएको गत कात्तिक २० गते एक वर्ष पूरा भयो । 

रु. १९ करोडभन्दा बढी खर्च गरी लञ्च गरिएको अनलाइन कारोबार प्रणाली पूर्ण नभएकै कारण र कमजोर तथा लगानीमैत्री नरहेका कारण एकवर्षको अवधिमा समेत यो प्रणालीप्रति लगानीकर्तामा विश्वास जाग्न सकेको छैन । 

अर्को हिसाबले भन्दा अनलाइन कारोबार प्रणाली लगानीकर्ताको सहजताका लागि भन्दा पनि धेरै ठूलो बजेट सक्ने धेरै बाहनामध्ये एउटा उत्कृष्ट बाहानाको रुपमा मात्र अगाडि सारिएको हो कि भन्ने शंका गर्ने ठाउँ नेप्सेबाटै सार्वजनिक तथ्याङ्कहरुले देखाइदिएको छ । 

अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएको एक वर्षमा समेत यो प्रणालीप्रति लगानीकर्तामा आकर्षण देखिएको छैन । निश्चित संख्याका लगानीकर्ताहरुले मात्रै यो प्रणालीमार्फत दोश्रो बजारमा कारोबार गरेका छन् । बरु अधिकांश लगानीकर्ताले पहिलाकै प्रक्रियाबाट कारोबार गर्न सहज र सरल मानेका छन् । यसले समेत नेप्सेले जुन किसिमको तामझामका साथ यो प्रणाली कार्यान्वयनमा ल्याएको थियो र यसको निर्माणको नाममा जति खर्च भएको थियो, त्यो गलत र सोझा लगानीकर्तालाई भूल्याउने र फसाउने भूलभूलैया मात्र थियो भन्ने देखिन्छ । 

नेप्सेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एकवर्षभरिमा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या १६ हजार २३४ मात्र रहेको छ । यो पनि कुल अनलाइन कारोबार गर्नेको संख्या हो, नियमित रुपमा अनलाइन कारोबार प्रणालीमार्फत कारोबार गर्नेको संख्या त अत्यन्त न्यून छ, जुन नेप्सेले सार्वजनिक गरेको छैन । 

अनलाइन कारोबार प्रणाली सुरु भएदेखिको एकवर्षको अवधिमा १ खर्ब ६ अर्ब ९ करोड ३४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्से बताउँछ । जबकि यो अवधिमा अनलाइनबाट भएको कुल कारोबार रकम १६ अर्ब ५४ करोड ८२ लाख ९ हजार मात्रै छ । यो तथ्यांकले समेत अनलाइन कारोबार प्रणालीका नाममा १९ करोड भन्दा बढी खर्च भएको सान्दर्भिकता पुष्टि हुँदैन । बरु नाम मात्रको अनलाइन कारोबार प्रणाली भित्र्याएर अनलाइन नामको भूलभूलैयामा सोझा लगानीकर्तालाई राखी यसको नाममा निकासा भएको बजेटमा मनपरी भएको शंका गर्न कठिनाई नहुने अवस्था चाहि बनेको छ ।

नेप्सेको नेतृत्वले अनलाइन कारोबार प्रणालीको सुरुवातपछि कारोबार संख्या र रकममा उछाल आउने ठोकुवा गरिरहेको थियो । तर अनलाइन आएपछि बजारमा निराशा पैदा भएको र लगानीकर्ता बजारबाट भागेका उसैको तथ्यांकले देखाउँछ । जसका कारण अनलाइन आउनुभन्दा अघिको तुलनामा अनलाइन आएपछिको कारोबार संख्या र रकममा समेत खासै सुधार हुन नसकेको देखिन्छ । यसले समेत नेप्सेको अनलाइन कारोबार प्रणाली लञ्च भएको एकवर्षमै सुपर फ्लप भएको छ भन्नलाई कुनै आइतबार पर्खिनु नपर्ने अवस्था सिर्जना भएको छ ।

अनलाइन कारोबार प्रणाली कार्यान्वयन भएपछिको एकवर्षे अवधिमा २४२ दिन सेयर कारोबार भएको देखिन्छ । २० हजार भन्दा बढी कारोबार भने एकदिन मात्र भएको देखिन्छ । १० हजार भन्दा बढी कारोबार भएको दिनको संख्या पूरा एक वर्षमा  २३ दिन मात्र छ । २ अर्ब बढीको कारोबार भएको दिनलाई हेर्दा जम्मा एकदिन मात्र भेटिन्छ । यसले नेप्सेको अनलाइन कारोबार प्रणालीले बजारलाई कुन हिसाबले प्रभाव पारेको छ भन्ने कुरा बुझ्न कुनै गाह्रो छैन । अर्थात, अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्था र कमजोर क्षमताकै कारण लगानीकर्तामा उल्टो चरम निराशा उत्पन्न भएको र बजार झनै डामाडोल भएको देखिन्छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ कात्तिक २० गते एक भव्य कार्यक्रमका बीच अनलाइन कारोबार प्रणालीको सुरुवात गरेका थिए । उनले अनलाइनको सुरुवातसँगै बजारमा सकारात्मक परिवर्तन हुने, कारोबार रकम, संख्यामा वृद्धि भई लगानीकर्ताको मनोबलमा समेत सकारात्मक प्रभाव पर्ने भन्दै आशावादी कुरा गरेका थिए । तर, औपचारिक लञ्च भएको लामो समयसम्म अनलाइन कारोबार प्रणाली अलपत्र परेको थियो । 

थोत्रो रेलको गतिमा कुदेको यो प्रणालीमा सुरुवातमा लगानीकर्ताहरु उत्साहित भई एकैपटक धेरैले कारोबार गर्न समेत खोजेका थिए, तर कमजोर सिस्टमले एकैपटकको धेरै कारोबार संख्यालाई धान्न सकेन र प्रत्येक दिनजसो बिग्रने, गलत तथ्यांक देखाउने समस्या बल्झिरह्यो । नेप्सेको फितलो व्यवस्थापन र भेण्डर कम्पनी वाइकोसँगको भित्री मिलेमतोका कारण नियोजित रुपमै अनलाइनप्रति लगानीकर्तामा वितृष्णा जगाउने नियतले काम भएको हो कि भन्न सकिने अवस्था देखियो । किनभने कमजोर प्रणालीले धेरै लगानीकर्ताको सहभागितालाई धान्दैन थियो, बरु अनलाइन प्रणालीप्रति नै वितृष्णा जगाइदिएपछि यसको नाममा भएको अनियमितता लुकाउन सहज हुन्छ भन्ने नेप्से नेतृत्वमा गलत सोंचले बास गरेको देखिन्छ । कारण, अनलाइनप्रति लगानीकर्ता निराश बनेपछि पहिलाकै प्रक्रिया र शैलीमा कारोबार गर्नतर्फ लाग्छन्, जसले अनलाइनमा लगानीकर्ताको भार कम हुन्छ र कम सहभागिता भएपछि कमजोर अनलाइनलले सहजै धान्नसक्छ । थोरै लगानीकर्ताको सहभागिता भई कमजोर सिस्टमले धानेपछि सो सिस्टममा समस्या नहुने र यसैको बाहानामा सिस्टमको समस्या समाधान भइसकेको भन्दै नेप्से नेतृत्वले अनलाइन प्रणाली निर्माणको नाममा भएको चरम बजेट दुरुपयोगलाई लुकाउने सहज बाटो पाएको देखिन्छ । 

नेप्सेले अनलाइन प्रणालीलाई थप परिस्कृत गर्दै लगेको दाबी गर्न समेत भ्याएको छ । तर, यसका लागि उसले गरेका कतिपय राम्रा प्रयासले समेत निरन्तरता पाएनन् । अनलाइन कारोबार प्रणालीका लागि लगानीकर्तालाई अभ्यस्त गराउन नियमित रुपमा प्रशिक्षण दिने कार्यक्रम समेत अलपत्र पर्यो । अन्य सचेतना कार्यक्रम समेत अलपत्र परे । 

नेप्सेले अनलाइन कारोबार प्रणाली बजारको विकासका लागि एक कोशेढुंगा भएको भन्दै आत्मारतिमा रमाउने खालको दाबी समेत विज्ञप्तिमा गरेको छ । जसको बलियो आधार देखिन्न । अनलाइनमा रहेको लगानीकर्ताको कमजोर सहभागिता, नेप्सेको भद्रगोल व्यवस्थापनपछि अनलाइनकै कारण लगानीकर्तामा थपिएको चरम निराशा लगायतले समेत नेप्सेले यो प्रणालीको नाममा निकै ठूलो भूलभूलैया निर्माण गरी भ्रम छरेको देख्न र सहजै अनुभव गर्न सकिन्छ । 

यति मात्र होइन, अनलाइन कारोबार प्रणालीमा नेप्सेको सबैभन्दा ठूलो असफलता नै लगानीकर्ता यसप्रति आकर्षित गर्न नसक्नु हो । अनलाइन प्रणालीको नाममा ठूलो रकम स्वाहा गर्न बाहेक बजारको विकासका लागि यसले ठूलो योगदान गरेको मान्न सकिन्न । 

बरु, यो काण्डमा अर्थमन्त्रालय, अख्तियार र अन्य सम्बद्ध निकायले समेत छानबिन गर्नुपर्ने आवश्यकता देखिएको छ । लगानीकर्ताको करोडौं स्वाहा पारेर समेत भरपर्दो सिस्टम तयार गर्न नसक्ने नेप्से नेतृत्व र उनीहरुले आर्जन गरेका अकूत सम्पत्तिमाथि समेत छानबिन हुनुपर्ने देखिन्छ । 

बजारमा यो विषयमा अर्थमन्त्रालयले छानबिन नगर्नु पछाडि त्यहाँका केही उच्च अधिकारीहरुको समेत मिलेमतो रहेको चर्चा हुँदै आएको छ । यदि यो चर्चा सत्यनजिक छ भने प्रधानमन्त्री कार्यालयले यो विषयमा प्रत्यक्ष चासो राखी तत्काल छानबिन अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ । 

केही लाख अपचलन गर्नेलाई हत्कडी लगाउन उद्यत अख्तियार जस्ता निकायले नेप्सेमा भएको करोडौं रकमको शंकास्पद खर्चमा ध्यान नदिइनु वा कयौं उजुरी पर्दा समेत गम्भीर भएर छानबिन नगर्नु पछाडिको कारण अब सचेत लगानीकर्ताले खोज्न आवश्यक छ । 

लगानीकर्ताले तिरेको रकममा नांगो रुपको दोहन स्वीकार्य हुनुहुँदैन । बजारको विकास र बिस्तार गर्छु भन्दै कसम खाएर आएकाहरुबाट भएको लगानीकर्तामाथिकै धोकाधडीको विषयमा तत्काल छानबिन हुन आवश्यक छ । नेप्सेको नेतृत्वमा आएपछि नेप्से प्रमुख चन्द्रसिंह साउदबाट भएका र हुने गरेका शंकास्पद र गोप्य गतिविधिलाई समेत माथिल्लो निकायले ध्यानपूर्वक हेर्न आवश्यक छ । साउदले नेप्से प्रमुखको रुपमा बसेर गरेको सूचनाको चरम दुरुपयोग, डमी लगानीकर्तामार्फत गर्ने गरेका आचरणविपरीतको सेयर लगानी लगायतको विषयमा समेत खोजबिन हुन आवश्यक देखिएको छ । यी विषयमा छानबिन गर्न ढिलाई गरिए लगानीकर्तामाथि अझ ठूला धोकाहरु हुनेछन् र त्यसबेलासम्म बजारप्रति लगानीकर्तामा बनेको निराशा चरम अवस्थामा पुगिसकेको हुनेछ ।