-भक्तराज रसाइली
काठमाण्डौ । अघिल्लो साता धितोपत्र कारोबार मापक नेप्से परिसूचक २५२० र २५६० विन्दू कै सेरोफेरोमा रहेको देखिन्छ ।

गत डिसेम्बर १४ मा नेप्से सूचक २०५५ रहेकोमा आज फेब्रुअरी १४ मा सूचक २४९३ अंक कायम हुन पुग्यो । छोटो समयमा निकै फराकिलो अंकले बढेको बजार गत फेब्रुअरी ८ तारिखका दिन हालसम्मकै सर्वाधिक उचाई २५६१ विन्दू चुम्दै साढे १० अर्ब रुपैयाँ कारोबार हुन पुगेको थियो ।

आखिरीमा उकालो चढिरहेको बजार किन ओरालो लाग्दैछ? यस्ता छन् मुख्य कारणहरु:

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः
नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनहरुले सेयर बजारमा प्रभाव पार्छ । मौद्रिक नीतिको अर्धवाषिक समीक्षा आज साँझ हुन गइरहेकाले समेत लगानीकर्तामा राष्ट्रबैंकले कुनै नीतिगत परिवर्तन पो गर्छ कि भन्ने अन्यौल रहेकोले यसले उनीहरुको मनोबल थोरै भए पनि कमजोर बनाइदिएको छ । 

बजार जानकारहरु मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर बजारलाई प्रभाव पार्ने कुनै न कुनै नीति आउने सम्भावनालाई अनुमान गरिरहँदौ कतिपय लगानीकर्ताहरु धमाधम नाफा बुक गरिरहेका देखिन्छन् । 

पछिल्लो समय बजारमा खरिदभन्दा आक्रामक रुपमा बिक्री चाप बढेका कारणले समेत आगामी दिनमा बजार अझै घट्नसक्छ । 

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनः
दोस्रो त्रैमासका रिपोर्टहरु उत्साहजनक आउने क्रममा गत शुक्रबार कतिपय कम्पनीका प्रतिवेदनले लगानीकर्तामा निराशा पैदा गरिदियो । 

कोभिड १९ का कारण नेपाल टेलिकमको व्यवसायिक ग्रोथमा ब्रेक मात्रै लागेन कि नाफासमेत ह्वात्तै घट्न पुग्यो । आज एनटीसीको सेयरमूल्यमा करिब साढे ४ प्रतिशतले गिरावट आउँदा त्ययको सोझो असर नेप्सेको सूचकमा पनि पर्यो । 

संस्थागत लगानीकर्ताको नाफा बुकः
संस्थागत लगानीकर्ताहरु पूर्ण रुपमा व्यवसायिक हुन्छन् । कुन विन्दूमा किन्ने र कुन विन्दूमा बेच्ने अगाडि नै योजना तय गर्ने भएकाले व्यवसायिक तथा संस्थागत लगानीकर्ताहरुले नेप्से २५६१ विन्दू पुगेपछि बिक्रीको चाप बढाउँदै लगेका समाचार स्रोतहरु बताउँछन् । 

नेप्से सूचक र उपसमूहका कतिपय सूचकहरु एक्स्ट्रिम बुलमा रहेकाले मनग्यै नाफा भएपछि टार्गेट प्राप्त भएको ठहर गर्दै संस्थागत लगानीकर्ताहरुले सेयर बिक्री गरिरहेका कारण सूचक ओरालो लागेको बताइएको छ ।

उपसमूहका सूचक अत्यधिक वृद्धि
पछिल्लो समयमा बीमा समूह तथा लघुवित्त समूहका उपसूचकहरु छोटो समयै निकै राम्रोसँग बढेका थिए । व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले कतिपय कम्पनीहरुमा ४० देखि ५० प्रतिशत नाफा बुक गरिसकेका हुनाले बजारको करेक्सन स्वभाविक थियो । 

राष्ट्रबैंकको ६ महिनाको प्रतिवेदन
राष्ट्रबैंकको तथ्याङ्कले आर्थिक वर्षको ६ महिनामा नेपालको अर्थतन्त्रमा कोरोनाको असर अपेक्षित भन्दा निकै कम रहेको देखिन्छ । कुल कर्जा बढेर ३७ खर्ब पुग्नु र निक्षेप समेत बढेर ४२ खर्ब पुगेको छ ।

लगानीकर्ताको मनोविज्ञानः
सेयर बजारमा इतिहासलाई केलाएर हेर्दा हरेक ५ वर्ष बुलिस र ३ वर्ष वियरिस ट्रेण्ड हुने गरेको देखिन्छ । बुलिस ट्रेण्डमै रहे पनि लगातार बजार उकालो लाग्दैन अर्थात बजारले एकैचोटि छोटो समयमा नयाँ अलटाइम हाई बनाउँदैन । तसर्थ सूचक साइडवेज वा सानातिनो गिरावट आउँदै उकालो लाग्ने हो । 

यद्यपि बजारले छोटो समयमै ठूलो अंकको उचाई हासिल गरिसकेपछि अब बजार कति पो बढ्ला र भन्ने द्विविधा तथा डर उत्पन्न हुन्छ, जसका कारण लगानीकर्ताहरुले विविध क्षेत्रबाट रकम ल्याई सेयरमा पैसा हाल्ने फ्लो कम हुन्छ र माग घट्छ । केही करेक्सन हुँदै अगाडि बढेको बजार नै अन्ततः दीगो र स्थायी हुन्छ ।