नाममा कसैको निजी अधिकार हुन्न भन्ने प्रविन पन्दाक लिम्बु नायिका हुन् । प्रखर अधिवक्ता हुन् । उनी २०६४ सालदेखि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सेवारत छिन् । हाल उनी नेप्सेमा कामु प्रबन्धक र कम्पनी सचिवको भूमिकामा छिन् ।

तपाईंको परिचय दिनुपर्दा..., यति भनिसकेपछि उनी मुस्कुराउँदै भन्छिन् , ‘तपाईंलाई कस्तो लाग्छ ?’

शालीन किसिमले जवाफ दिने प्रविनको जन्म ताप्लेजुङमा भएको हो । मातापिता झापा बसाइ सरेपछि बाल्यकाल झापामा बितेको हो । उनको झापा र काठमाडौंमा कनेक्ट भएको बाल्यकाल थियो । स्कुल जीवन भने काठमाडौंमा बित्यो ।

बाल्यकाल सम्झँदा उनलाई असाध्यै राम्रो लाग्छ । गाउँ देखेको जनजीवनसँग सानिध्य भएर हुर्केको बाल्यकाल । सहर र पहाड देखेको बाल्यकाल । प्रकृतिसँग खेल्दै हुर्केको बाल्यकाल ।

बाल्यकालमै फरक भूगोल र भिन्न समुदायसँग घुलमिल भइन् उनी । विभिन्न अवस्था, व्यक्तित्व, घटनाहरुले बाल्यकालको बुझाइमा अहम भूमिका निर्वाह गर्दछ भन्ने विचार व्यक्त गर्ने प्रविनको बाल्यकालमा यस्तै कुराको सकारात्मक प्रभाव परेको थियो । 

पहाड, मधेश र विभिन्न समुदायमा विभिन्न मुद्धा एवम् घटनाहरु हेर्ने, देख्ने र सामेल हुने मौका पाएकी प्रविन भन्छिन्, ‘ती विषयसँग सम्बन्धित कुरा बुझ्न सचेत र अवचेतन मनलाई सघाउँछ ।’

उनलाई लाग्छ, ‘बुझ्न र समस्या झेल्न सहज बनाउँछ । सक्षम बनाउँछ ।’ उनी भन्छिन्, ‘सबै अवस्थालाई मैले नछोएको हुनसक्छु । तर, उकालीओरालीहरुले जीवनमा राम्रै कुराहरु सिकाएर जानेरहेछ ।’

जति धेरै विविधता अनुभव गर्न पाइयो त्यो अमूल्य हुने उनको अनुभव छ ।

प्रविन कलाकारिता क्षेत्रमा पनि चिनिएको नाम हो । उनी प्रखर अधिवक्ताको रुपमा पनि सक्रिय छिन् । उनको परिवारमै सरकारी सेवामा प्रवेश गर्ने पहिलो व्यक्ति हुन् प्रविन ।

उनलाई सानैदेखि कलाकार बन्न मन लागेको थियो । भन्छिन्, ‘म एकदम क्लियर थिएँ बाल्यकालदेखि नै । म कलाकार हुन चाहन्थेँ ।’ एउटा समयमा त्यो सम्भव पनि भयो । अहिले पनि थोरै समय त्यसका लागि छुट्टयाउने गरेकी छिन् ।

कलाकारिता उनले भित्रदेखिनै सोचेको कर्म हो । नेप्सेमा प्रवेश गर्छु, जागिर नै खान्छु भन्ने चाहिँ उनले कहिल्यै सोचेकी थिइनन् ।

जागिरमा प्रवेशपछि पनि उनले मुभिहरुमा काम गरेकी छिन् । रुचि र सोखलाई उनले छाडेकी छैनन् । 

कलाकारितालाई केही पाउनेभन्दा पनि रमाउने क्षेत्रको रुपमा हेरेको उनी भन्छिन्, ‘सपनाभन्दा पनि मैले चाहेको कुरा र म रमाउन चाहेको थिएँ कलाकारितामा । कलाकार भएर म ठूलो मान्छे बन्छु भन्ने थिएन ।’ नाचगान, अभिनयमा अघि सर्ने उनको बानी सानैदेखिको थियो ।

आफ्नै इच्छाले नै कलाकारितातर्फ डोहोर्याएको हो उनलाई । कुनै बाह्य घटनाले गर्दा प्रेरित भएकी होइनन् उनी ।

प्रविनले २०५४ सालमा एसएलसी विशिष्ट श्रेणीमा उत्तीर्ण गरिन् । त्यसपछि प्लस टु सकिन् । बीबीएस पढदै गर्दा उनले प्रताप सुब्बाको स्कुलमा अभिनय कक्षामा भर्ना भइन् ।

मुभिमा काम गर्दैगर्दा पनि उनमा पढाइ छाड्ने सोंच कहिल्यै आएन । यसैगरी स्नातकोत्तर पनि गरिन् । 

टियू टप गरेकी प्रविन पढाइमा अब्बल नै थिइन् ।

एमबीएसमा केटीतर्फ र एलएलएममा एग्रेग्रेटमै टियू टप गरेकी प्रविन लोकसेवामा धेरै मिहेनत गरेको, पढिबस्ने गरिबस्ने बानी भएकोले नाम निकाल्न सकेको ठान्छिन् ।

नेप्सेको छैठौं तहमा एक नम्बरमा नाम निकाल्न सफल भएकी उनले आठौं तहमा पनि एउटा सिटमा मात्र भएको भ्याकेन्सीमा नाम निकाल्न सकेकी हुन् । नवौं तहमा पनि एउटा खुल्ला विज्ञापनमा नाम निकाल्न सकेकी हुन् । उनी अब्बल भएको र मिहेनती भएको उदाहरण हुन् यी ।

दशौं तहमा कामु प्रबन्धक भएर कार्यरत उनले चलचित्र, म्युजिक भिडियो, टेलिसिरियलहरुमा यसबीचमै काम गर्दै रहिन् । उपेन्द्र सुब्बाको कथामा आधारित रवि शेर्माको निर्देशनमा बनेको फिल्म लाटो पहाड (केबा कोक्मा) मा उनले कोक्मा ठूलीको भूमिकामा अभिनय गरेकी छिन् । राम्रो सन्देश बोकेको र सामाजिक यथार्थ कथामा देखाएकाले उनलाई यस चलचित्रमा काम गरेकोमा गर्व लाग्छ । भन्छिन्, ‘यस्तोमा काम गर्न मनलाग्छ ।’ 

यो काम सम्झिँदा आनन्द मान्छिन् उनी ।

परीक्षाको संघर्ष र कलाकारिताको कर्म दुवैतर्फ चाहिने एउटै कुरा हो कन्सनट्रेसन । ‘लोकसेवा तयारी गर्दा जति कन्सनट्रेसन पढाइमा चाहिन्छ, त्यति नै कन्सनट्रेसन अभिनयका लागि पनि चाहिने रहेछ ।’ उनी भन्छिन्, ‘कलाकारिता एउटा राम्रो स्कुल हो । यसले धेरै कुरा सिकाउँछ ।’

धैर्य, मिहेनत गर्ने कला अन्य विधामा पनि चाहिन्छ । खासमा सबै क्षेत्रमा चाहिन्छ । अझ अभिनय त समाजको दर्शन हो । यस्तै विचार बोकेकी प्रविनलाई आफू पढिरहने विद्यार्थी हुँ भन्ने लाग्दछ ।

उनी एकदम मिहेनती छिन् । लगावका साथ काम गर्ने बानी छ उनको।

‘सानो कामलाई पनि हल्का रुपमा लिन्नँ । कामलाई छोएपछि , राम्रोसँग पूरा गर्छु ।’ प्रविन थप्छन्, ‘मसँग जोडिएका व्यक्तिहरु र इभेण्टहरुलाई सोचेपछि सम्झेपछि हल्कारुपमा लिन्नँ । काम पनि पढाइ पनि, म जे गर्न सक्छु बेस्ट गरौं भन्ने लाग्छ ।’

आफूले गर्ने काममा न्याय गर्न खोज्यो भने परिणाम त सापेक्षिक हुनसक्छ तर कर्मप्रति इमान्दार हुँदा सन्तुष्टि मिल्छ । कलाकारिता, सरकारी सेवा, वकालत यी तीन काम गरिरहेकी प्रविनको मूल मान्यता हो यो ।

‘इन्टेन्सनल्ली हैन तर काम गर्दै जाँदा समय पनि मिल्ने रहेछ । मलाई मनपर्ने फिल्ड वकालत पनि हो ।’ उनले नेप्सेको तर्फबाट पनि वकालतको अनुभव गरेकी छिन् । सरोगेसी बन्द गराउँदाको पीआइएलमा पनि उनको सक्रिय र अहम् भूमिका रह्यो । त्यो उनका लागि झन् स्मरणीय छ । मौलिक सम्पदाहरु जोगाउनका लागि पनि उनको लगाव छ ।

‘कलाकारितामा धेरै समय दिन पाएको छैन । सानो काममा पनि आत्मसन्तुष्टि लिन सकिने गरी काम गर्न रुचाउँछु । जुरेको बेलामा काम गरिरहेको छु ।’ रमाइला सुखद क्षण सम्झिँदा उनी भन्छिन्, ‘म यस्तै गर्छु यस्तै बनिन्छु भनेर आएको होइन । कर्म गर्दैगर्दा यत्ति भएको हो । यो संयोग चाहिँ हैन । संयोग भनेर मेरो यात्रालाई अपमान गर्दिनँ ।’

उनलाई मूभि गर्दाको समयका माया, प्रशंसाले उर्जा थप्छ । पीआइएल गर्दाको समयमा पनि जनताहरु खुसी भएको, सामाजिक रुपमै अप्रिसियट गरेका घटनाहरु सम्झनलायक छन् । उनलाई नेप्सेमै पनि निस्वार्थ रुपमा हुने सकारात्मक प्रतिक्रिया बहुमूल्य सम्पत्ति लाग्छन् ।

उनको जीवनमा उनले दुःख भोग्नुपरेको छैन, भन्छिन्, ‘संघर्ष त अफकोर्स गरेकै छु ।’

कलाकारितामा लाग्न संघर्ष नै गर्नुपरेको थियो । परिवारलाई पनि कन्भिन्स गर्नुपरेको थियो उनले ।

हरेक अनुभव र भोगाइ ग्रुम गर्ने अवसर हो । जे भए पनि मैले अनुभव गर्न पाएँ भन्ठान्ने प्रविनका लागि हरेक अनुभव प्राप्ति नै हो । 

आफैंले सबै कुरा म्यानेज गर्नुपर्ने, आफैैंले आफैंलाई सोच्नुपर्ने, आफूलाई नै ड्राइभ गर्नुपर्ने, परिचय बनाउनुपर्ने, म यो हुँ भनेर भन्नुपर्ने, कसैले नचिन्ने जस्ता दिनहरु सम्झिँदै उनी भन्छिन्, ‘सबैको जीवनको सुरुवात ए बाट त हुन्छ नि ।’

कलेज पढदै गर्दा ३ महिनाजति स्कुलमा पढाएको अनुभव र करीब ८ वर्ष कलेज पढाएकी उनी केटाकेटीसँग काम गर्न एकदमै रमाइलो मान्छिन् । उनलाई लाग्छ कि, उनीहरुमा कुनै शंका हुँदैन । उनी भन्छिन्, ‘केटाकेटी भेटेँ भने खेलिबस्छु । रमाउँछु ।’

प्रविन नामलाई लिएर छोरा मान्छे सोच्ने र यसबारे नसोध्ने सायदै कोही भए । स्कुलको साथीदेखि लिएर संस्थागत रुपमा फोन आउँदा पनि, सुप्रिम कोर्टमा बहस गर्दादेखि लिएर अन्तरवार्ताहरुमा पनि सबैले सोध्ने गर्दछन् । 

उनी आफ्नो नामबारे भन्छिन्, ‘नाम अरुले दिने हो । मेरो ममीले दिनुभएको हो मेरो नाम । मलाई मनपर्छ मेरो नाम । म कम्फर्टमा छु मेरो नामका लागि ।’

‘म यसो गर्छु भनेर हिँड्ने मान्छे परिनँ । जे हो त्यसलाई राम्रो गरौं भन्ने छ । हिँड्दै जाँदा कहाँ पुगिन्छ । गरौं, हिँडौं ।’ यसो भन्ने प्रविन कल्चर, आर्ट र सम्पदालाई एकदम सम्मान गर्ने व्यक्ति हुन् । ‘कल्चरले अन्तरआत्माबाट जोड्छ मानिसलाई’ भन्ने प्रविनको भावना छ । 

‘म सफल भएको चाहिँ आफूलाई भन्दिनँ । संघर्षशील र प्रयत्नशील चाहिँ छु ।’ आफ्नो बारेमा उनी यसो भन्छिन् ।

प्रविनको दिदीबहिनीहरुलाई सुझाव छ, ‘काम गर्दा जे गरे पनि अन्तर विवेकबाट मोटिभेट भएर गर्नुपर्छ । अप्ठेराहरुबाट कदापि तर्सिनुभएन । निरन्तर लागिरहनुपर्छ, सोचेका कुरामा उन्मुख हुन सकिन्छ ।