काठमाण्डौ । लामो रस्साकस्सीपछि धितोपत्र बजारमा आएको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा एकपछि अर्को समस्या देखा पर्दा लगानीकर्ताहरु हैरान भएका छन्।
टीएमएस कहिले खुल्दै नखुल्ने, खुलिहाले पनि राम्रोसँग काम नगर्ने, अर्डर म्याच नहुनेजस्ता समस्या हुन थालेपछि लगानीकर्ताहरु हैरान भएका हुन्। केही समयअघि टीएमएसमा देखिएका समस्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसम्म गुनासो पुगेको थियो। प्रधानमन्त्री ओलीकै ठाडो आदेशपछि टीएमएसमा केही सुधार आए पनि अहिले डीपी होल्डिङमा समस्या देखिन थालेको छ।
टीएमएसको फिचरमा अर्डर म्यानेजमेन्ट, फन्ड म्यानेजमेन्ट र डीपी होल्डिङ राखिएका छन्। अर्डर म्यानेजमेन्टको काम लागानीकर्ताले सेयर किनबेच गर्ने हो भने फन्ड म्यानेजमेन्टको काम लगानीकर्ताले तिर्नुपर्ने अथवा पाउनुपर्ने रकमका विषयमा जानकारी दिने हो।
टीएमएसमै ब्रोकर ब्याक अफिसअन्तर्गत डीपी होल्डिङको फिचर राखिएको छ। जसको काम भनेको ‘मेरो सेयर’ मा भएको सेयर र टीएमएसमा भएको सेयर म्याचिङ गर्ने हो। तर, अनलाइन प्रयोग गर्ने लगानीकर्ताको सेयर कुनै–कुनै समयमा सिन्क्रोनाइज नहुने र सेयर बेच्न नपाउने समस्या देखिएको छ।
धेरै किनबेच भएको बेला आफैँ लगअफ हुने, स्लो हुने, अर्डर प्लेसमेन्टमा समस्या हुने, लगानीकर्ताले हालेको खरिद आदेश अर्डर बुकमा नदेखिनेजस्ता समस्या रहेको लगानीकर्ता भेषराज पौड्यालले बताए। ‘यी समस्याका कारण अनलाइन प्रणालीबाट सेयर कारोबार गर्न कहिलेकाहीँ निकै कठिन हुने गरेको छ’, उनले भने, ‘समस्या समाधान गर्न सम्बन्धित निकायले उचित पहल गर्न आवश्यक देखिन्छ।’
पौड्यालले खासगरी नयाँ लगानीकर्ताहरुलाई टीएमएस चलाउन सम्बन्धित ब्रोकर अथवा कुनै माध्यमबाट प्रशिक्षण दिन आवश्यक रहेको पनि औँल्याए।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख चन्द्रसिंह साउदले आफूहरुले संसारमै नभएको डीपी होल्डिङको सुविधा नेपालमा दिएको दाबी गरे। उनले टीएमएसमा नभई इन्टरनेटका कारण ती समस्या देखिएको हुन सक्ने उल्लेख गरे।
8 minutes ago
21 minutes ago
33 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago