काठमाण्डौ । गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’को उपविजेता रहेका आर्थर गन भनी चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेललाई डेनिस बियर ब्रान्ड टुबोर्गको पहलमा यही महिना नेपाल ल्याइने घोषणा भएको छ।

आर्थरले काठमाण्डौ, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्।

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल १८औँ सिजन’को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढ्यो। प्राय दर्शकहरुले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन्, जहाँ उनले बब डिलनको ‘गर्ल फ्रम द नर्थ’ कन्ट्री र क्रिडेन्स क्लियरवाटर रिभाइभलको ‘ह्याब यु एभर सिन द रेन’ नामक गीतहरु गाएका थिए। उनको प्रस्तुतिलाई सबै ३ निर्णायकहरुद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई ‘ही इज द बेस्ट’ भनी प्रशंसा पनि गरेकी थिइन्।

उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरु र कलाकारहरुले समस्त कार्यक्रम भरी प्रशंसा गरे। हालसम्म उनले कुल ८ वटा गीतहरु रहेको आफ्नो पहिलो एल्बम ‘ग्रहण’ २०१८ को सुरुआतमा रिलिज गरे र अर्को एल्बम ‘खोज’ २०१९ मा ‘म’, ‘खोज’ र ‘कर्णाली’ लगायतका गीतहरुसहित जारी गरेका छन्।

विश्वभरका दर्शकबाट अपार माया र समर्थन पाएपछि आर्थरले सबैको मायाको प्रतिफल दिन मातृभूमि नेपाल फर्किने योजना बनाएका छन्। टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन सफल भएको छ। जहाँ आर्थरले नेपालको विभिन्न सहरमा प्रत्यक्ष प्रस्तुति दिनेछन्।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशीष बिष्ट भन्छन्, ‘टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ। टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैँ समर्थन गर्दै आएको छ। सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्व महसुुस गरेका छौँ किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीतप्रेमीहरुलाई गौरवान्वित बनाएका छन्।’

होमकमिङ टुरका बारेमा सोध्दा आर्थर भन्छन्, ‘अन्ततः मेरो जन्मभूमि नेपाल फर्केर आउन पाउँदा म धेरै खुसी छु। यस टुरलाई सम्पन्न गर्न सहयोग गरेकोमा टुबोर्गप्रति निकै धन्य छु। म सबैलाई भेट्न र मेरो यात्रामा मलाई साथ दिनुहुने मेरो शुभचिन्तकहरुको माझमा प्रस्तुति दिन निकै उत्साहित छु।