काठमाण्डौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित ‘टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता–२०७८’ भव्य रुपमा सम्पन्न भएको छ। यस प्रतियोगिता चैत १६ गतेबाट सुरु भएर चैत २० गते सम्पन्न भएको हो। 

आयोजकको कार्यतालिका अनुसार चैत १९ गते सम्पन्न गर्ने भनिए पनि धेरै समूहको सहभागिता भएको कारणले एकदिन म्याद थपिएको थियो। प्रतियोगितामा ६१ समूहबीच प्रतिस्पर्धा भएको थियो। 

प्रतियोगिताको पाचौँ दिन (चैत २० गते) अन्तिम चरणको प्रतियोगिता सँगै बीच–बीचमा चर्चित कलाकारहरुको प्रस्तुति राखिएको थियो भने सहयोगीदाताहरु र आजीवन सदस्यता लिनेहरुलाई सम्मान पनि गरिएको थियो। प्रतियोगिताको पाचौँ दिन प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल र प्रतिष्ठानका केन्द्रीय सदस्य पीएन सापकोटाले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए भने समापन कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव सुवास केसीले गरेका थिए।

प्रतियोगिता अवधिभर प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजकको भूमिकामा रहेका थिए भने निवर्तमान केन्द्रीय अध्यक्ष सहसंयोजक बद्री पंगेनी रहेका थिए।

यसका साथै यस प्रतियोगितामा अन्य अग्रज कलाकार पनि निर्णायकको भूमिकामा रहेका थिए। 

काठमाण्डौस्थित भृकुटीमण्डपमा चैत १६ गतेदेखि आयोजना भएको ‘टुबोर्ग छैटौं राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता– २०७८’ को अन्तिम चरणको दोहोरी गीत प्रतियोगितामा कडा प्रतिस्पर्धा भएको कारणले दर्शकहरु निकै रमाएका थिए। अन्तिम चरणको प्रतियोगितामा जम्मा १२ वटा समूहबीच प्रतिस्पर्धा गराइएको थियो। 

अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता युनिभर्सल टीभी, नेपाली रडियो नेटवर्कमार्फत देशभरका एफएम स्टेसनहरु र विभिन्न अनलाईनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। 

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रु. २ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेस्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु. ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु. १० हजार नगद, मेडल र प्रमाणपत्र तोकिएको थियो।  

प्रतियोगितामा नगरकोट दोहोरी साँझको प्रतियोगी जीवन सिग्देल र अस्मिता डल्लाकोटीले प्रथम स्थान हासिल गर्न सफल भएका थिए। यस पुरस्कारको प्रायोजन जापान बसोबास गर्ने मनु थापाले गरेका थिए। 

त्यस्तै प्रतियोगितामा गामबेसी दोहोरी साझको प्रतियोगी शान्ता वलि र अर्जुन खड्काले दोस्रो स्थान हासिल गरेका थिए। यस पुरस्कारको प्रायोजन बिना बुढा मगर, गौचन बुढा मगरले गरेका थिए।

प्रतियोगितामा क्विन रोधी घरको प्रतियोगीहरु हरिमाया रायमाझी, रश्मि बस्नेत, श्याम राना र शर्मिला रायमाझीले सँगै लुम्बिनी प्रदेशले बराबर नम्बर लिएर दुईवटै समुहले तेस्रो स्थान हासिल गरेका थिए। तृतीय पुरस्कारको प्रायोजन शिरफुल दोहोरी साँझले प्रायोजन गरेको थियो। 

प्रतियोगितामा भद्रकाली समूह (खेम नेपाली) उत्कृष्ट समूहका रुपमा छनौटमा परेकोले रु. ५हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो। त्यस्तै अनुशासित समूहमा ओखलढुंगा प्रतिष्ठान छनौटमा परी नगद रु. ५ हजारसहित सम्मानित भएको थियो भने नवदित गायिका दिलमाया बिक र गण्डकी प्रदेशका प्रतियोगी नवदित गायक किशान बिक छनौटमा परी रु. ५–५ हजार नगद पुरस्कार सहित पुरस्कृत भएका थिए। 

उत्कृष्ट गायक–गायिकातर्फ गण्डकी प्रदेशको प्रतियोगी सुमन खड्का र राजधानी दोहोरी साझकी प्रतियोगी पूजा पुनले हात पारेका थिए। उत्कृष्ट गायक–गायिकालाई रु. ७–७ हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो।

त्यसैगरी प्रतियोगीहरुमध्ये सबैभन्दा कान्छी प्रतियोगी गण्डकी प्रदेशकी प्रतियोगी अर्चना चापागाईंलाई पनि हौसलास्वरुप रु. ७ हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो। प्रतियोगिता अवधिभर अनुशासित कलाकारको रुपमा रहेको भन्दै रु. ५ नगद पुरस्कार सहित राजु लामिछाने सम्मानित भएका छन्। 

प्रतियोगिताको समापन कार्यक्रम केन्द्रीय अध्यक्ष रमेश बिजिको अध्यक्षता थियो। समापनमा मुख्य प्रायोजक, प्रायोजक, सहप्रायोजक, सहयोगीदाता, विभिन्न संघसंस्था, मिडियाकर्मी, निर्णायकहरु लगायत अन्यलाई सम्मान गरिएको थियो। 

कार्यक्रम अवधिभर खटिएर साथ सपोर्ट गर्ने आयोजक, स्वयंसेवक, मुख्य प्रायोजक, प्रायोजक, सहप्रायोजक, सहयोगीदाता, पत्रकार, विभिन्न संघसंस्था, सुरक्षाकर्मीलगायत अन्यलाई आभार प्रकट गर्नुका साथै लोक दोहोरीलाई सधै माया गर्न अनुरोध गर्दै केन्द्रीय अध्यक्ष रमेश बीजीले कार्यक्रमको समापन गरेका थिए।