काठमाण्डौ । मंसिर महिनाका कारण बाहिरी मौसम चिसो छ । तर, सेयरबजार पनि यतिबेलै तातेको छ । 

पछिल्लो समय नेप्से परिसूचक निरन्तर उकालो लागिरहेको छ । एकैदिन ६ अर्ब बढीको सेयर कारोबारको कीर्तिमान समेत कायम भइसकेको छ । 

बढ्दो बजारमा लगानीकर्ताहरुको आकर्षण र लगाव पनि बढ्दै जाँदा अब बजार के होला ? भन्ने जिज्ञासा समेत उत्तिकै छ । यो क्रममा फण्डामेन्टलका आधारमा र टेक्निकलका आधारमा जानकारहरुले आ आफ्नो विश्लेषण सार्वजनिक गरिरहेका छन् । 

पछिल्लो समय सेयर बजारका चर्चित प्राविधिक विश्लेषक बिष्णु बस्याल नोभेम्बरभित्रै नेप्से परिसूचकले १८३० देखि १८५० विन्दू चुम्ने प्रक्षेपण गर्छन् ।

नेप्से १८५० विन्दू हाराहारीमा पुगेपछि भने बजार करिब दुई हप्ता साइडवेजमा रहने उनको दाबीसमेत छ । यदि १८५० को विन्दूलाई समेत तोड्न सकेको खण्डमा आगामी डिसेम्बरको पहिलो साताको अन्ततिर नै १९५० को विन्दू चुम्ने उनले जिकिर गरे । 

प्राविधिक विश्लेषक बस्यालले अब बैंकिङ, हाइड्रो, विकास बैंक, वित्त र उत्पादन समूहमा उछाल आउनसक्ने दाबी गरे । बैंक सेक्टरमा लगानी गरेका लगानीकर्ताहरुलाई उक्त लगानी अन्य सेक्टरमा सिफ्ट नगर्न सुझाउँदै बस्यालले बैंक चल्न थालेपछि अन्य समूह सुस्ताउने बताए ।

सेयर बजार प्राविधिक जानकार टंकराम गौतम पुरानो बुललाई अब नयाँ इण्डेक्सले पार गर्ने दाबी गर्छन् । बजारले नयाँ उचाई चुम्ने जिकिर गरेका उनले अब खासै ठूलो करेक्सन नआउने बताए । नेप्सेको पुरानो सर्वाधिक उचाईमा पुगेपछि केही दिन बजार साइडवेजमा जाने जिकिर गरेका उनले बजारले अब सकारात्मक दिशा नै तय गर्ने मत राखे । बैंकिङ समूहको पनि प्याटर्न व्यवस्थित भई बसिरहेकाले यो समूहमा पनि निकट भविष्यमै बहार आउने उनको प्रक्षेपण छ ।