-आदित्य दाहाल
मेलम्ची । भूकम्प गएको एक वर्ष बितिसक्दासमेत सिन्धुपाल्चोकको जिल्ला अस्पताल अहिलेसम्म टेन्टमा नै छ । भूकम्पले अस्पताल चर्किएर सञ्चालन गर्न नमिल्ने भएकाले अहिलेसम्म जिल्ला अस्पताल टेन्टबाट उठ्न सकेको छैन ।

अस्पतालबाट दिने आकस्मिक, जनरल तथा ओपिडी सेवासुविधा सबै टेन्टबाट नै सञ्चालन भइरहेका छन् । हावाहुरी, घामको राप र साँगुरो जस्ता समस्या भए पनि जिल्ला अस्पतालमा उपचार गर्न बाध्य छन् बिरामी । 

लामो समयदेखि दमको रोगबाट ग्रसित कुभिन्डेकी ६४ वर्षीया रत्नकुमारी न्यौपाने अहिले जिल्ला अस्पताल चौतारामा उपचार गराइरहेकी छिन् । उनलाई अस्पताल आएपछि आफ्नो स्वास्थ्य समस्या समाधान हुनेभन्दा झनै गाह्रो भएको महसुस हुँदैछ । तीन दिनदेखि जिल्ला अस्पतालको टेन्टमा उपचार गराइरहेकी उनलाई अत्यधिक गर्मीका कारण श्वासप्रश्वासमा समस्या आएको हो ।

‘गर्मीले समस्या भएपछि केही दिनदेखि दमको रोगले च्याप्यो।’ उनी भन्छिन्–‘अस्पताल आएँ तर टेन्टको गर्मीले अस्पताल शै्ययामा नै छटपटी हुन्छ ।’ एकातिर अस्पतालको टेन्टको तातोले अस्पताल शैयामै गुम्सिनुपर्छ त दिउँसो लाग्ने हावाहुरीले अस्पतालको टेन्ट र शैया नै उडाउने डरले अत्तालिनुपर्ने उनले सुनाइन् । अत्यधिक तातो र टेन्टभित्र गुम्सिनु पर्दा अहिले जिल्ला अस्पतालमा उपचाररत रत्नकुमारी मात्रै हैन सबै बिरामीलाई निकै कष्ट भएको छ । ‘दिउँसोको तातो टेन्टमा गुम्सिनु पर्दा निकै सकस हुन्छ, कहिलेकाहीँ सकी नसकी बाहिर निस्कने गर्छु।’ उनी भन्छिन्–‘हावाहुरी उत्तिकै लाग्छ, अस्पतालको श्ययामै गर्मीले मरिएला जस्तो हुन्छ ।’

गर्मीका कारण उनी टेन्टमा हुने तातो खप्न नसकेर बेला–बेला आफ्नो ओछ्यान बोकेर रूखको छहारीमा बस्न बाध्य छिन् । टेन्टमा उपचार हुँदाको समस्याबाहेक अहिले जिल्ला अस्पतालमा पानीसमेत छैन । शौचालय जानलाई पानी नहुँदा झनै समस्या थपिएको रत्नकुमारी सुनाउँछिन् । शौचालयमा जताततै दुर्गन्ध र फोहोर छ । बिरामी कुर्न अस्पताल आएका एक कुरुवा भन्छन्–‘अस्पतालजस्तो संवेदनशील ठाउँमा सार्वजनिक ठाउँमा भन्दा गैरजिम्मेवार कार्य भएको छ ।’

भुइँचालोले अस्पतालको सुविधासम्पन्न भवनमा क्षति पु¥याएपछि वर्षदिनदेखि बिरामीलाई टेन्टमा उपचार गराउनु परेको हो । भुइँचालोलगत्तै आकस्मिक रूपमा अस्पतालले तीन महिनासम्म नर्वेजियाली रेडक्रसको सहयोगमा टुँडिखेलमा सेवा प्रदान गरिएको थियो । भुइँचालो गएको वर्ष दिन बितिसक्दासमेत पनि अस्पतालको नयाँ भवन बन्न नसक्दा टेन्टमै उपचार गराउन जिल्ला अस्पताल बाध्य बनेको हो ।

भुइँचालोपछिको बर्खायाम, हिउँदको चिसोमा बिरामीलाई निकै सकस भएको अस्पतालका एक कर्मचारी बताउँछन् । बर्खामा टेन्टबाटै पानी चुहिने समस्याले सताएको उनको अनुभव छ । पानीको चरम अभाव हुँदा अहिले पनि बिरामीले समयमै औषधि खान पाएका छैनन् । ‘पानीको अभाव छ औषधि खानका लागिसमेत पानी घरबाट लिएर आउनुपर्छ ।’टेन्टभित्र रहेको अस्पतालको श्ययाबाटै रत्नकुमारीले समस्या सुनाइन् । ‘बरु बाटामा हिँड्दा कसैले पानी खान देलान् तर अस्पतालमा उपचार गर्न आएको बिरामीले औषधि खानका लागिसमेत पानी खान पाउँदैनन्।’, उनले भनिन् । 

उपचारकै लागि अस्पताल आएकी मेलचौरकी छलिमाया तामाङलाइ छाती पोल्ने र जीउ दुख्ने समस्या छ । उनलाई छिन्छिनमा पानीको प्यास लाग्छ । अस्पतालमा यसरी बिरामी भएर आउने बिरामीका लागि अस्पतालमै छट्पटाउनुपर्ने बाध्यता छ । भूकम्पका कारण अस्पतालको भवन चर्किएपछि अस्पताल चलाउन निकै कठीन भएको जिल्ला अस्पतालका डा.विनिता सिंहले बताइन । ‘हामीले सकेको सेवा दिएका छौँ।’ उनी भन्छिन–‘टेन्टमै उपचार गराउन कठिन छ ।’

उनले बिरामीलाई केही गाह्रोे हुने गरेको सुनाइन । ‘अर्काे विकल्प छैन । बिरामी राख्ने ठाउँको अभाव हुँदा समस्या आएको छ ।’ आकस्मिक सेवा पनि टेन्टबाटै गरिरहेको डा. विनिता बताउनुहुन्छ । 

भूकम्प गएको लामो समयसम्म टेन्टमा नै बिरामीको उपचार गरिरहेकाले धेरै दुःख र गाह्रो हुने गरेको छ । औषधि राख्नका लागि भण्डारकोठाको अभाव छ । बिरामीलाई सेवा दिन निकै कठिन भएको पनि विनिताले बताउनुभयो । भूकम्प गएको एक वर्ष बितिसक्दा समेत टेन्टको उपचारमा धेरै समस्या भोग्नु परेको छ । भवन निर्माणका लागि कतैबाट चासो नहुँदा बिरामी झनै मर्कामा परेका छन् ।