काठमाण्डौ । नेपाल टेलिकमले आफ्ना सेवाहरुको स्तरोन्नति गर्दै सेवाको गुणस्तर बृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तीव्रताका साथ अघि बढाइरहेको छ । 

कम्पनीले २०७५ असार मसान्तसम्म ४ सय किलोमिटर एडीएसएस अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य राखेकोमा बैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर जडान सम्पन्न भइसकेको छ । 

अब असार मसान्तसम्म थप १ सय ७५ किलोमिटर नेटवर्क जडान गर्ने कार्य सम्पन्न हुनेछ । आगामी आर्थिक वर्ष २०७५/७६ को प्रथम चौमासिक अवधिमा बाँकी ४ सय ५० किलोमिटर थप जडान कार्य सम्पन्न गरी कुल १ हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको छ ।

हालसम्म सम्पन्न भएका नेटवर्कहरुमा बसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खादबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसिपुर रहेका छन् । त्यसैगरी तामाकोशी पुल–खिम्ती–मन्थली–सिन्धुली बीचको ११५.८० किलोमिटर मध्ये ९० किलोमिटर सम्पन्न भएको छ भने बेनी–जोमसोम बीचको ११३.४४ किलोमिटर रुट मध्ये ९५ किलोमिटरमा अप्टिकल फाइबर जडान गर्ने कार्य सम्पन्न भइसकेको छ । 

यस्तै बुड्डी–बिजगौरी, तौलिहवा–मर्यादापुर, डण्डाबजार–चोरमारा, तौलिहवा–बहादुरगञ्ज र कोहलपुर–लम्कीलाई जोड्ने १६३.२ किलोमिटर लामो अन्डरग्राउन्ड अप्टिकल फाइबर नेटवर्क हाल जडान तथा परीक्षण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको छ । त्यस्तै केरखा–कोरोबारी र गौरादह–कोहोबारा जोड्ने अप्टिकल नेटवर्क जडान सम्पन्न भई स्प्लाइसिङ र टेस्टिङको चरणमा छ । स्याफ्रुबेसी–रसुवागढी १५ किलोमिटर मध्ये १० किलोमिटर ट्रेन्चिङ र डक्टिङ कार्य सम्पन्न भइसकेको छ भने बाँकी खण्डमा ट्रेन्चिङ र डक्टिङ कार्य भइरहेको छ । 

अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकामहरु र विभिन्न जिल्लाका नगरपालिका तथा सहरोन्मुख क्षेत्रहरु आवद्ध हुने छन् । ती पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेलधुरा, डोटी, अछाम र बैतडी लगायतका जिल्लाहरु हुन् । यसबाट हाल सञ्चालनमा रहेका ३८ एक्सचेन्ज, ३४ बीटीएस र १९ रिपिटरहरुमा अप्टिकल फाइबर जोडिने छन् ।

हाल सम्म नेपाल टेलिकमले कुल ५७ वटा जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिसकेको छ र चालु आयोजना सम्पन्न हुँदा कुल ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार कार्य सम्पन्न हुनेछ । मुलुकभरका ७७ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य पूरा गर्न बाँकी रहेका थप १३ जिल्लामा हाल सर्भे कार्य प्रारम्भ भइसकेको छ । यी जिल्लामा उपयुक्त प्रविधि प्रयोग गरी चरणबद्ध रुपमा कार्य सम्पन्न गर्ने योजना रहेको छ । 

कम्पनीले यस अघि नै विभिन्न चरणमा पाल्पा, पर्वत, बागलुङ,उदयपुर, सुर्खेत, धनकुटा, तेह्रथुम,सल्यान, म्याग्दी, गोर्खा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, स्याङजा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, लमजुङ र रसुवा जिल्लाका सदरमुकामलाई अप्टिकल फाइबर नेटवर्कबाट जोड्ने कार्य सम्पन्न गरिसकेको छ । अप्टिकल फाइबर नेटवर्क विस्तार भए पछि कम्पनीको भ्वाइस र डाटा सेवा अझ गुणस्तरीय हुनेछ । कम्पनीको ब्याकबोन प्रसारण निर्देशनालय, अप्टिकल आयोजना कार्यान्वयन विभागले यो योजनालाई अगाडि बढाइरहेको  छ ।