काठमाण्डौ । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जीबी डाटा प्याकलाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर आज शुक्रबार राती १२ बजे पश्चात लागू हुनेछ । 

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जीबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो ल्याइएको कम्पनीको एक विज्ञप्तिमा उल्लेख छ ।  

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जीबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जीबी डाटाको हिसाबले जम्मा २८ जीबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने कम्प्नीको भनाइ छ ।