काठमाण्डौ । टोकियो ओलम्पिक खेलका क्रममा मादक पदार्थमा प्रतिबन्ध लगाइने भएको छ। 

टोकियो ओलम्पिक २०२० का अध्यक्ष सीको हाशिमोटोले बुधबार यस्तो घोषणा गरेका हुन्। ‘खेल अवधिभर सुरक्षालाई ध्यानमा राखेर यो निर्णय लिइएको हो’, उनले भने।

हासिमोटेका अनुसार ओलम्पिक खेलको आयोजकमध्ये एक असाही ब्रुअजिसले पनि यो निर्णयमा सहमति जनाएको छ। ओलम्पिक खेलहरु सुरु हुन अब केवल ३० दिनमात्र बाँकी छ। अहिले आयोजनाको पूरा ध्यान सुरक्षित ढंगले प्रतियोगिता आयोजना गर्नमा केन्द्रित रहेको देखिन्छ।

आयोजकले ओलम्पिक खेल अवधिभर रंगशालाबाहिर र भित्र कुनै पनि किसिमको मादक पदार्थ बिक्रीवितरण र सेवनमा रोक लगाएको छ। स्थानीय स्वास्थ्य अधिकारीहरुले मादक पदार्थको बिक्री तथा सेवनले कोरोना महामारीको यो अवस्थामा सामाजिक दूरी कायम गर्ने स्थिति कम हुने बताएका थिए। सोही कारण पनि ओलम्पिक खेल अवधिभर मादक पदार्थमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा आयोजक पुगेको छ। 

जापानको राजधानी टोकियो सहरका अधिकांश स्थानमा मादक पदार्थ बिक्रीवितरण रोक लगाइने बताइएको छ। 

त्यसो त आयोजक केवल १० हजार घरेलु दर्शकलाई मात्र ओलम्पिक खेलहरु हेर्न रंगशालामा प्रवेश दिइनेछ। विदेशीलाई भने रंगशाला प्रवेश प्रतिबन्ध नै रहने आयोजकले स्पष्ट पारेको छ। – एजेन्सी