काठमाण्डौ। नेपालको अग्रणी अनलाइन सपिङ बजार दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ। 

एनओसीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिंगले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा आयोजित ‘ओलम्पिक डे २०२१’ को विशेष समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। दराज अलीबाबा समूहको एक हिस्सा हो। अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को विश्वव्यापी पार्टनर हो।

यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिँदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ। सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवर्द्धनमा साथ दिने विश्वास गरिएको छ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रवर्द्धनका लागि दराजसँग सहकार्य गर्न पाउँदा खु्सी लागेको बताए। ‘सहभागी २०७ देशमध्ये नेपाली खेलाडीले आफ्नो पूरा मेहनत, जोश र सपना पूरा गर्ने लक्ष्यसहित प्रदर्शन गर्ने आशा राखेको छु’, उनले भने, ‘यसबाहेक दराजले पनि ओलम्पिक खेलको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु। यो सधैँ ओलम्पिक कमिटीको मुख्य लक्ष्य रहँदै आएको छ।’

एनओसीले दराजको माध्यमबाट नेपाली दर्शकले पनि जुलाई २३ देखि अगस्त ८ सम्म हुने ओलम्पिक हेर्न, यसबारे सुसूचित हुने र विभिन्न सामाजिक संजाल र अन्य माध्यमबाट सहभागी गराउने प्रयास गर्नेछ। ‘म दराजलाई यस सहकार्यका लागि कदम अघि बढाएकोमा धन्यवाद दिँदै यो सहकार्य आउने दिनमा पनि जारी रहने आशा व्यक्त गर्दछु’, श्रेष्ठले भने। 

खेलकुद र त्यसमा पनि ओलम्पिकले आफ्नो बेग्लै परम्परागत पहिचानसहित विश्वभरका मानिसलाई एकसाथ बाँध्ने गरेको छ। अहिले कोभिड–१९ को यस कठिन समयमा सबैको जीवनमा असर पर्दा पनि यसले केही खुसी दिने प्रयास गरेको छ। ‘हामी टोकियोमा हुने ओलम्पिक खेलका लागि यस सहकार्यमा साथ दिन पाउँदा गौरव महसुस गरिरहेका छौँ’, दराजका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, ‘उत्कृष्टता, सम्मान र मित्रता ओलम्पिकको मानहरु हुन् र हामी दराज पनि यसैमा अडिग छौँ। हामी युवाहरुको जुझारु समूह दक्षिण एसियामा उत्कृष्टता हासिल गर्न लागिरहेका छौँ। हामी जे पनि सम्भव छ भन्ने सोचका साथ अघि बढेका छौँ। दराजको तर्फबाट म नेपाली खेलाडीलाई आउँदो ओलम्पिकमा सफलताका शुभकामना व्यक्त गर्दछु।’

टोकियो ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदैछ। २ सयभन्दा बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यो साझेदारीको मुख्य लक्ष्य ओलम्पिकको गर्विलो इतिहासको नेपालमा सकेसम्म बढी प्रवरुद्धन होस् भन्ने नै रहेको छ।