काठमाण्डौ । सन् २०२१ जापानी अटो निर्माता कम्पनी ‘टोयटा’का लागि विशेष रह्यो । विश्वका अधिकांस अटो निर्माताहरु कोरोना महामारीको चपेटामा परेता पनि टोयटाले भने लोभलाग्दो व्यापार गर्यो । कम्पनीले आफ्ना प्रतिस्पर्धीको तुलनामा सबै प्रमुख बजारमा बिक्री वृद्धि गर्न सफल भयो । 

ग्लोबल डेटाको रिपोर्टअनुसार टोयटाले २०२१ मा सम्बद्ध कम्पनीसहित विश्वभर १ करोड ७० लाख युनिट कार बिक्री गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९३ लाख युनिट कार बिक्री गरेको थियो । बिक्रीका आधारमा टोयटाले आफूलाई लगातार दोस्रो वर्ष विश्वको अग्रणी कम्पनीका रुपमा कायम राखेको छ । कम्पनीको वार्षिक वृद्धिद्धर ९.२ प्रतिशत रहेको छ । 

टोयटाको यो प्रदर्शनसँगै  कम्पनीले आफ्नो नजिकको प्रतिस्पर्धी भोल्सवागेनसँगको दूरी १६ लाख ३० हजार युनिटले बढाएको छ । भोल्सवोगेनले सन् २०२१ मा ८५ लाख युनिट कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५.९ प्रतिशतले कम हो । 

टोयटाले सन् २०२१ मा केहि महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको छ । यो वर्ष कम्पनीले चीनमा मात्रै १९ लाख ४० हजार युनिट कार बिक्री गरेको छ । यस्तै पछिल्लो ९० वर्षको बिक्री क्रमलाई तोड्दै अमेरिकामा कम्पनीले जनरल मोटर्सलाई उछिनेको छ । 

टोयटाको विश्वव्यापी नेतृत्वको श्रेय यसको बलियो आपूर्ति श्रृंखला सञ्जाल र स्थानीय बजारहरुमा अनुकूलनिय रहेको व्यवसायिक रणनीतिलाई दिइएको छ । जसले कम्पनीलाई प्रमुख अटोमोटिभ बजारमा स्थिर रुपमा प्रवेश गर्न मद्दत गर्यो । 

उदाहरणका लागि,टोयटाले विगत ९ वर्षदेखि चीनमा वृद्धिको लहरमा छ र समग्र अटो उद्योगको औसतभन्दा माथि बढ्न सफल भएको छ । कम्पनीले कोभिड–१९ संक्रमण र सेमीकन्डक्टर अभावको प्रभावलाई आफ्ना प्रतिस्पर्धीहरुभन्दा राम्रोसँग व्यवस्थापन गरेको छ ।

उता, गोल्फ, टुरान, टिगुआन र सिट ताराको मोडलहरु उत्पादन गर्ने नवोल्फ्बर्गमा रहेको भोल्सवागेनको सबैभन्दा ठूलो इकाई भने चिप अभावका कारण वर्षभरि उल्लेख्य रुपमा प्रभावित रह्यो । सन् २०२१ मा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बन्नेमा भोल्सवागेन दोस्रो स्थानमा रह्यो । यस वर्ष कम्पनीले ११ लाख ५० हजार युनिट बिक्री गुमायो । 

युरोपको तुलनामा सामान्यतया, जापान र अन्य एशियाली देशहरु कोरोना भाइरसबाट कम प्रभावित बने । जुन टोयटाका लागि सकारात्मक पक्षका रुपमा रह्यो । 

त्यस्तै हाइब्रिड र इलेक्ट्रिक गाडीहरुको बलियो वृद्धिले टोयटालाई अन्य अटो निर्माताभन्दा अघि पारेको छ । जसलाई बजारको अनुकुलताले साथ दिएको छ । फास्ट–ट्रयाकिङ इलेक्ट्रिफिकेसनले कम्पनीको वृद्धिलाई आगामी वर्षहरुमा अझै टेवा पुर्याउने अनुमान गरिएको छ ।