काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीहरुमा सहभागी ३० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएको खुलासा भएको छ। तीमध्ये करिब ७०० जनाको कोरोनाकै कारण मृत्यु पनि भएको छ।

स्ट्यानफोर्ड युनिभर्सिटीका सोधकर्ताहरुले हालै गरेको एक अध्ययनबाट यस्तो खुलासा भएको छ। अध्ययनअनुसार ट्रम्पको १८ वटा चुनावी र्‍यालीमा सहभागी भएकामध्ये ३० हजारमा कोरोना संक्रमण देखिएको हो। 

यो अध्ययनका विषयमा ट्विटरमा एउटा प्रतिक्रिया पोस्ट गर्दै डेमोक्रेटिकबाट राष्ट्रपति पदका उम्मेदवार जो बिडेनले ट्रम्पको खरो आलोचना गरेका छन्। ‘राष्ट्रपति ट्रम्पलाई तपाइँहरुको स्वास्थ्यका विषयमा पर्वाह छैन’, उनले लेखेका छन्, ‘न त उनलाई आफ्ना समर्थकको नै पर्वाह छ।’

शोधकर्ताहरुले गत जुन २० गतेदेखि सेप्टेम्बर २२ सम्म भएका ट्रम्पको यी १८ वटा चुनावी र्‍यालीमा सहभागीहरुको स्वास्थ्यका विषयमा अध्ययन गरेको थियो। यो अध्ययनको शीर्षक ‘द इफेक्ट्स अफ द लार्ज ग्रुप मिटिङ्स अफ द स्प्रेड अफ कोभिड–१९ : द केस अफ ट्रम्प र्‍याली’ दिइएको थियो।

अध्ययन प्रतिवेदनमा ट्रम्पको चुनावी र्‍यालीमा सहभागीहरुले स्वास्थ्य अधिकारीहरुले दिएका चेतावनी र उनीहरुबाट सिफारिस गरिएका नियमहरुको ठाडो उल्लंघन गरिएको पाइएको जनाइएको छ। ‘प्रायः सहभागीले भौतिक दूरीको पालना गरेको पाइएन, कतिपय त बिना मास्क नै र्यालीमा हिँडेको पाइयो’, प्रतिवेदनमा भनिएको छ।

कोरोनाबाट अतिप्रभावितको सूचीमा पहिलो स्थानमा रहेको अमेरिका हालसम्म ९४ लाख २ हजार ५९० जना संक्रमित भइसकेका छन्। तीमध्ये २ लाख ३६ हजार ७२ जनाको मृत्यु भइसकेको छ भने ६० लाख ६२ हजार ४३८ जना निको भएर घर फर्किसकेका छन्। –एजेन्सी