काठमाण्डौ । ट्रम्प प्रशासनले अमेरिकामा भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा अदालतले रोक लगाएको छ। 

ट्रम्प प्रशासनले टिकटकको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। जुन प्रतिबन्ध लागू हुन केही घन्टामात्रै बाँकी रहँदा अमेरिकाको वासिंटन अदालतका एक न्यायाधीशले उक्त आदेश कार्यान्वयनमा रोक लगाएका हुन्। टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सको अनरोधमा प्रतिबन्धको उक्त आदेश तत्काल कार्यान्वयन नगर्न ती न्यायाधीशले अस्थायी आदेश जारी गरेको समाचार स्रोतहरु उल्लेख गर्छन्। 

ती न्यायाधीशले यो आदेश जारी गर्नुको खास कारण खुलाएका भने छैनन्। तर यस विषयमा पछि फैसला गर्ने उनको आदेशमा उल्लेख छ। ती न्यायाधीशको आदेशमा भनिएको छ, ‘आज रातिबाट टिकटकमा प्रतिबन्ध लगाउनुको अर्थ के हो, जब कि यसको अमेरिकी कारोबार बच्ने सम्बन्धमा अन्य कम्पनीसँग छलफल भइरहेको छ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए। तर बाइटडान्सले ट्रम्पको यस्तो आरोपको खण्डन गरेको छ। 

बाइटडान्सले टिकटक एप सन् २०१७ मा लन्च गरेको थियो। अहिले विश्वभर यो एपका ५० करोड प्रयोगकर्ताहरु छन्। जसमा ८ करोड प्रयोगकर्ताहरु त अमेरिकामै छन्। – एजेन्सी