काठमाण्डौ । ट्राफिक उल्लंघन गरेबापतको जरिवाना अबदेखि इसेवाबाट नै भुक्तानी गर्न सकिने भएको छ।

महानगरिय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उलंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम इसेवाबाटै भुक्तानी गर्न मिल्ने भएको हो। अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने र महाशाखाका तर्फबाट वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले हस्ताक्षर गरेका छन्। 

महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम)  सफ्टवेयर विकास गरेसँगै अनलाइन भुक्तानीको सेवा सुरु भएको हो।  प्रविधिको प्रयोग र अनलाइन भुक्तानीको सुविधाले सवारी व्यवस्थापन गर्दा थप प्रभावकारी र कम जनशक्तिबाट धेरै काम गर्न सकिने अपेक्षा गरिएको छ। 

अनलाइन भुक्तानी गर्दा जरिवानाबापतको राजस्व रकम सिधै सरकारी राजस्व खातामा जम्मा हुनेछ। जसले गर्दा जरिवानाबापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने सवारी चालकले घरमै बसेर अनलाइन भुक्तानी गर्न सकिनेछ। जसले गर्दा यसअघि बैंकमा लाइन बस्नुपर्दा धेरै समय खर्चिनुपर्ने र झन्झटिलो प्रक्रिया व्यहोर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ। 

सवारी चालकले ट्राफिक प्रहरीले काटेको चिट नम्बर उल्लेख गरेपछि ट्राफिक उलंघन गरेको कसुर र जरिवाना रकम देखाउनेछ। सोही ठाउँमा मागिएको विवरणभरि सहजै इसेवाबाट रकम भुक्तानी गर्न सकिनेछ। इसेवा अकाउन्ट नभएका व्यक्तिले नजिकै रहेको कुनै पनि इसेवा जोन तथा पोइन्टमा गएर जरिवाना रकम भुक्तानी गर्न सकिनेछ। 

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा व्यहोर्नुपर्ने झन्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ। 

हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन्।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।